मल्ल राजाको सिंहासन आज मंगलबजारमा प्रदर्शन गरिदै

ललितपुर – ललितपुरको मंगलबजारमा मल्ल राजा श्रीनिवास मल्लको सिंहासन आज सावर्जनिक रुपमा प्रदर्शन गर्दै संगीत महोत्सव गरिदैछ । हरेक वर्षको जेष्ठ शुक्ल पुर्णिमा (ज्या पून्हि)का दिन मंगलबजारमा श्रीनिवास मल्लको  सिंहासन प्रदर्शन गरिन्छ ।

त्यस्तै सिंहासन प्रदर्शनसँगै मंगलबजारमा नै  आज संगीत महोत्सव  पनि हुँदैछ । करिव ४०० वर्ष अघि अर्थात सिद्धिनरसिहं मल्लको पालादेखि पूर्णिमाका दिन संगीत महोत्सव गर्ने चलन छ । संगीत महोत्सवमा राजा सिद्धिनरसिहं मल्लले तयार पार्नु भएको रागमलहार सहित ३२ वटा राग गाउने गरिन्छ ।

त्यस्तै  सिद्धिनरसिंह मल्लको शासनकालमा बनेको पौभाः चित्र आज  प्रदर्शनमा राखिनेछ। अरु दिन भने सिंहासन र पौभाः पाटन म्यूजियमभित्र सुरक्षित तरिकाले राखिने गरिन्छ।

महोत्सव कार्तिक डबलीमा दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म हुनेछ ।

उपत्यकाका नेवारहरुले आजको दिनलाई वर्षको सबैभन्दा लामो दिनको रुपमा लिने गर्दछन् । पश्चिमेली परम्परामा जून २१ तारिखलाई सबैभन्दा लामो दिनको रुपमा लिने गर्दछ ।

यसै विच, आज पनौतीमा भैरव र भद्रकालीको मुख्य जात्रा हुँदैछ । पनौतिमा हरेक वर्ष जेष्ठ शुक्ल पूर्णिमाका दिन जात्रा हुने गर्दछ । जात्राको क्रममा आज पनौतिको अजा टोलमा भैरव , महादेव र भद्रकालीको खट जात्रा गरिनेछ। जात्रा तीन दिन अघि शुरु भएको र आज जोगि चक्र पुजा गरेर यसवर्षको भैरव भद्रकाली जात्रा सकिनेछ।

भैरव र भद्रकालीलाई महादेव र पार्वतीकै अर्को रुप भएको विश्वास गरिन्छ ।