काठमाण्डाै – वाग्मती प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ। यससँगै प्रदेशभित्र तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाको रुपमा प्रचलनमा आउने निश्चित भएको छ । वाग्मती प्रदेशसभामा सो विधेयक सोमबार सर्वसम्मतिले पारित भएको हो।
प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले प्रस्तुत गर्नुभएको विधेयकमाथि छलफलपछि सोमबार सभामुख भुवनकुमार पाठकले निर्णयार्थ पेस गर्नुभएको थियो । अब प्रदेशसभा सचिवालयले उक्त विधेयकलाई प्रदेश प्रमुखसमक्ष प्रमाणीकरणका लागि पठाउनेछ । प्रदेश प्रमुखले प्रमाणित गरेपछि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित गर्नेछ र राजपत्रमा प्रकाशित भएको मितिले १८० दिनपछि प्रदेशसभाबाट पारित विधेयक लागू हुनेछ ।
