अपहरणमा परेकी बालिकाको ३६ घण्टापछि भक्तपुरबाट उद्धार, १ जना पक्राउ

काठमाण्डाै –अपहरणमा परेकी दुई वर्ष पाँच महिनाकी बालिकाको ३६ घण्टापछि भक्तपुरबाट उद्धार गरिएकाे छ । नेपाल प्रहरीको टोलीले सूर्यविनायक नगरपालिका–३ बालकोट पानीट्याङ्कीबाट उनलाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ ।

काठमाण्डौ महानगरपालिका–८ गौशालामा चिया पसल सञ्चालन गर्दै आएका बालिकाका अभिभावकसँगै रहेकी उनलाई गएको मङ्गलवार चिया खान आएका व्यक्तिले लगेको उजुरीपछि खोजी थालिएको थियो । जिल्ला प्रहरी परिसर काठमाण्डौ र उपत्यका अपराध अनुसन्धान महाशाखाबाट खटिएको संयुक्त टोलीले ३६ घण्टापछि हिजो बिहीवार भक्तपुरबाट ती बालिकाको उद्धार गरी अभिभावकलाई बुझाएको हो ।

बालिका अपहरणको आरोपमा एक जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।