सजिलमान शाक्यलाई न्याय दिलाउन ललितपुरमा प्रदर्शन

ललितपुर – ललितपुर पुल्चोकको स्क्वायर होटलको स्विमिङ पुलमा करेन्ट लागेर गंभीर घाइते भएका सजिलमान शाक्यलाई न्याय दिलाउन ललितपुरमा मंगलबार प्रदर्शन गरिएको छ। गएको  भाद्र १५ गते होटलको स्विमिङ पुलमा करेन्ट लागेर घाइते भएका ४१ वर्षका हस्तकला ब्यवसायी शाक्य ६ महिनादेखि नं अचेत अवस्थामा रहेको र सम्बन्धित निकायले दोषीलाई कारवाही नगरेको भन्दै मंगलबार विरोध प्रदर्शन भएको हो।

विभिन्न संघ संस्थाको आव्हान भएको विरोध प्रदर्शनमा जनसमुदायको बाक्लो  उपस्थिति थियो। पाटन दरवार क्षेत्रबाट शुरू प्रदर्शनको क्रममा मानभवनमा रहेको जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको थियो।  त्यसपश्चात स्क्वायर होटलमा गएर कोणसभा परिणत भएको थियो ।

यसै विच, होटलकी सञ्चालिका सञ्चालक रोमी अर्याल सोमबार प्रहरीसमक्ष उपस्थित भएपछि पक्राउ परेकी छन् । सजिलमान शाक्यको  परिवारले होटलका दुई जना सञ्चालकविरूद्ध जाहेरी दिएका थिए । यसअघि ललिता भण्डारीलाई प्रहरीले पक्राउ गरिसकेको थियो। भण्डारी माघ ६ गते पक्राउ परेका थिए। प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा घटनाको अनुसन्धान गरिरहेको छ । मंगलबार रोमीलाई पनि ललितपुर जिल्ला अदालतमा पेश गर्ने तयारी गरिरहेको छ ।
हाल सलिजमान शाक्यको जावलाखेलस्थित घरमै उपचार भइरहेको छ । यस घटनापछि न्याय माग गर्दै परिवारजन, आफन्त तथा स्थानीयहरुले पटकपटक प्रदर्शन गर्दै आएका छन् ।