ललितपुर – ललितपुरको पाटनमा २४ वर्षपछि पचली भैरवको खड्गसिद्धी नाच प्रदर्शन हुँदैछ । आज बेलुकी ५ बजेपछि पाटनढोकामा रहेको गणेश मन्दिरमा तान्त्रिक साधना सहित विशेष पुजा गरेर देवगणले मुकुट, पोशाक लगाएर नागबहाल, मंगलबजार हुँदै हखाको कोटपाटीमा तान्त्रिक नाच देखाइनेछ ।
नाचका गुरू भरत मालीका अनुसार देवगणहरुले आज भैरव नाच प्रदर्शन गर्नेछन् । भोलि पनि दिनभर गणेश, बाराही, इन्द्रायणी, ब्रम्हायणी, नारायण, भैरव, सिंगिणी, व्याधिणी, श्वैत भैरवसहित १२ देवगणहरु परम्परागत बाजाका तालमा नाच प्रदर्शन गर्ने उहाँले बताउनु भयो ।
एक ठाउँमा नाच देखाउन देवगण नाइके बाद्यगुरुसहित ५० जनाभन्दा धेरै अनिवार्य सहभागी हुनुपर्छ ।
तत्कालीन समयमा राजा र देवताबीच खड्ग साटासाटको रुपमा लिइने यो तान्त्रिक नाच हरेक १२ वर्षमा देखाउने गरिन्छ । १२ वर्षे यो नाच बडादशैंको टीकाको दिन टेकुको पचली भैरव मन्दिरबाट सुरु भएको हो । यो नाच काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा देखाउने चलन छ ।
