साँखुमा चलिरहेको एक महिना लामो स्वस्थानी व्रतका व्रतालु पशुपतिको गौरीघाटमा

काठमाडौं – काठमाडौंको साँखुमा चलिरहेको एक महिना लामो स्वस्थानी व्रतको क्रममा परदेश यात्रामा रहेका ब्रतालुहरु अहिले पशुपतिको गौरीघाटमा पुगेका छन् ।

हिजोदेखि  परदेश यात्रामा निस्केका उनीहरु अहिले गौरीघाटमा स्नान गरेर त्यहि नै ब्रत बस्ने स्थानीय संस्कृतिकर्मी प्रकाशमान सक्वले बताउनु भयो । पशुपतिमा ब्रत बसेर सानो गौचरमा विश्राम गरेर बसन्तपुर हुँदै ब्रतालुहरु आज नै फपिङ्ग जानेछन् । 

परदेश यात्रामा निस्कँदा खाली खुट्टा हिडेर सास्कृतिक मार्ग हुँदै गन्तव्यमा पुग्नु पर्ने चलन छ। एक महिना लामो ब्रतका उनीहरु तीनचोटी परदेश यात्रामा निस्किएर चारवटा धाममा ब्रत बस्नु पर्ने नियम अनुसार आज पशुपतिको गौरीघाटमा ब्रत बसेर फपिङ्ग जान लागेका हुन् ।

परापूर्व कालमा माधव नारायणले स्वस्थानीब्रत बस्ने क्रममा अश्वमेघ यज्ञ गर्नको लागि एकमुखे रुद्राक्ष , सुनको कमल, अक्षता र १ सय आठ प्रकारका फूल आवश्यक भएकोले ती सामग्रीहरु जुटाउनको लागि पशुपतिनाथ, फपिङ्ग, चागुँनारायण र पनौतिमा ब्रत बसेको धार्मिक किवंदंन्ति छ ।

यसवर्ष २१५ जनाले साँखुकोे एक महिना लामो स्वस्थानी ब्रत लिएका छन् ।