त्रिशक्ति भवानीको  १२ वर्षे सिद्धि दनेगु पर्वको समापन चैत १७ गते गरिने

ललितपुर/ जितेन्द्र महर्जन – ललितपुर हरिसिद्धिको त्रिशक्ति भवानीको २०७८ सालदेखि शुरू भएको १२ वर्षे सिद्धि दनेगु  पर्वको समापन चैत १७ गते गरिने भएको छ।  बिहीवार ललितपुरमा भएको पत्रकार सम्मेलनमा चैत १७ गते शनिबार फूल्चोकी माई दर्शन तथा गोदावरी मेलासहित १२ वर्षे जात्रा समापन गर्ने जानकारी दिएको हो ।

चैत १७ गते  बिहान ४ बजे हरिसिद्धि भवानीको प्राङ्गणमा भेला भएर हरिसिद्धि भवानीका पुजारीहरूद्वारा पुजासामग्री, काहा बाजा, धिमे बाजासहित सबै भक्तजनहरूले कोपुली नौधारा मन्दिरमा पुजागरी फुल्चोकीमा गएर फुल्चोकी माईको पुजा गरी , गोदावरी जल द्यः ख्यःमा विश्राम गरेर प्रसाद ग्रहण गरेपश्चात हरिसिद्धिमा फर्केर १२ वर्षे सिद्धि दनेगु जात्रा औपचारिक रूपमा सम्पन्न गरिने पत्रकार सम्मेलनमा जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा ललितपुर महानगरपालिका वडा नं २८ का अध्यक्ष वीरेन्द्र महर्जन, वडा नं २९ का अध्यक्ष गणेश कुमार महर्जनले १२ वर्षे पर्वको समापन प्रक्रियाको बारेमा जानकारी दिनु भएको थियो। पत्रकारहरूले सोधेको प्रश्नको जवाफ च्याभु धनबहादुर महर्जनले दिनु भएको थियो। 

हरिसिद्धि  जात्राको इतिहास हेर्दा किवन्दती अनुसार करिब २००० वर्ष पहिले भारत उज्जनका चक्रवर्ती राजा विक्रमादित्य नेपाल आएका बेला आफ्नो कुलदेवीका रूपमा हरसिद्धि माइलाई कलशमा साधना गरेर बानेश्वरस्थित निलतारामा स्थापना गरेर हरसिद्धि नाच संचालन गरेका थिए । पछि विभिन्न कारणले उक्त नाच  रोकिएको थियो।  पछि लिच्छवी कालमा राजा नरेन्द्रदेवका छोरा वरदेवले अहिलेको देवीलाई हरसिद्धिमा पुनस्थापना गरेर नाच संचालन गरेका थिए। त्यो पनि पछि रोकिन पुग्यो।

पछि राजा अमर मल्लको पालामा हरसिद्धि माइ फूल्चोकीमा उत्पति भयो र प्रख्यात तान्त्रिक  गयो जुजुले फूल्चोकीबाट कलश साधना गरेर देवीलाई हरसिद्धिमा स्थापना गरेर पुजारीहरूलाई तालिम दिएर नाचलाई पुनः संचालन गर्यो।

पछि कान्तिपुरका राजा प्रताप मल्लले नाच व्यवस्थित गर्नका लागि नीति नियम बनाएर हरेक १२ वर्षमा सिद्धि दनेगु पर्वका रूपमा संचालन गर्यो। १२ वर्षे जात्रा संचालनका लागि १० जना च्याभु पुजारीलाई सरकारीस्तरबाट नै व्यवस्थापकको रूपमा नियुक्त गरेर कामको जिम्मा दिने गरिन्छ र च्याभु पुजारीले अन्य पुजारी नियुक्त गर्दछन्।

सिद्धि  दनेगु अन्तगर्त १२ वर्षको अवधिमा भित्र दिवंगत पुजारीको ठाँउमा नयाँ पुजारी  भर्ना गर्ने, मन्दिर मर्मत गर्ने, मुकुट मर्मत तथा नयाँ बनाउने, नयाँ पोशाक सिलाउने, पुजारीहरूविच कार्य विभाजन गरेर अभिभारा सुम्पिने,  नाचको तालिम दिने, शक्ति संचय गर्ने , दिक्षा प्रदान गर्ने, नयाँ कलश स्थापना गर्ने, धुलिखेल, दोलखा, पशुपति, पनौती लगायतका नेपालमण्डलका विभिन्न ठाँउमा नाच देखाउने, लगायतका धार्मिक गतिविधि गर्ने गरिन्छ। अन्तिम कार्यका रूपमा फूल्चोकी माइको दर्शन गरेर समापन गरिन्छ।  परापूर्व कालदेखि यहि प्रकियाअनुसार सिद्धि दनेगु पर्व निरन्तररूपमा संचालन भइरहेको छ।

हरेक वर्ष हरिसिद्ध भवानीको नाच योमरी पुन्ही, फागु पूर्णिमाको दिन दिनभर देखाइन्छ भने दशैँमा पनि एक पटक देखाइन्छ । यो नाचमा १० जना च्याभु पुजारी र १९ जना गण पुजारी गरेर जम्मा २९ जना पुजारीहरू सम्मिलित हुन्छन् ।