बालबालिकाहरूलाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था मिलाउन महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले निजी तथा संस्थागत विद्यालयका प्रतिनिधिहरूसँग गहन छलफल गर्नुभएको छ।
राष्ट्रिय सभा गृहमा आयोजित उक्त छलफलमा प्याब्सन र एनप्याब्सनका केन्द्रीय देखि महानगर तहसम्मका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
छलफलका क्रममा कार्यवाहक प्रमुख डंगोलले अहिलेको समय प्रश्न गर्ने मात्र नभई समस्या समाधानका लागि एकजुट भएर लाग्ने बेला भएकोमा जोड दिनुभयो।
उहाँले मानवीयता र संस्थागत सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै ती बालबालिकाको उज्यालो भविष्यका लागि सहयोग गर्न निजी विद्यालयहरूलाई आग्रह गर्नुभयो।
डंगोलले बालबालिकाको सर्वोत्तम हितका लागि महानगर र शैक्षिक संस्थाहरू मिल्नुको विकल्प नरहेको बताउँदै आवासीय सुविधा भएका विद्यालयहरूलाई यस अभियानमा जोडिन अपिल गर्नुभयो।
महानगरको यस प्रस्तावप्रति निजी विद्यालय सञ्चालकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।
प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी र एनप्याब्सनका अध्यक्ष सुवास न्यौपाने लगायतका पदाधिकारीहरूले महानगरको यस तत्परताले आफूहरूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्नुभयो।
बालबालिकाको शिक्षाका लागि कति र कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा प्याब्सन र एनप्याब्सनले आन्तरिक बैठक गरी छिट्टै महानगरलाई आधिकारिक जानकारी गराउने प्रतिबद्धता जनाएका छन्।
