काठमाण्डौ – साताको पहिलो कारोबार दिन नै धितोपत्र बजारमा ठूलो गिरावट देखिएको छ।
शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ६३ अङ्कले ओरालो लागेर २ हजार ७०४ दशमलव ०८ विन्दुमा कायम भएको छ।
यो गिरावटसँगै बजारले लगातार चौथो दिन पनि रातो सङ्केत देखाएको छ।
आजको बजारमा माइक्रोफाइनान्स समूहमा मात्र केही सुधार देखिए पनि अन्य सबै उपसमूहका सूचकहरू घटेका छन्।
विशेषगरी उत्पादन तथा प्रशोधन समूहको सूचक साढे २ प्रतिशतभन्दा बढीले गिरावट आएको छ। कुल २४० कम्पनीको शेयर मूल्य घट्दा जम्मा २७ वटा कम्पनीका लगानीकर्ताले मात्र केही नाफा कमाएका छन्।
रसुवागढी हाइड्रोपावर र स्वरोजगार लघुवित्तको शेयर मूल्यमा भने कुनै परिवर्तन आएन।
आज कर्पाेरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै साढे १२ प्रतिशत नोक्सानी व्यहोरेका छन्।
यद्यपि, उच्च गिरावटको बीचमा पनि फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको शेयर मूल्य भने १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।
बजार परिसूचकसँगै कारोबार रकममा पनि संकुचन आएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ३४१ कम्पनीका १ करोड ७४ हजार कित्ता शेयर ४ अर्ब २६ करोड रुपैयाँमा सीमित भएको छ।
