आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज भएको महत्वपूर्ण भिडन्तमा नेपालले ओमानलाई २ सय ५७ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरको अन्तिम बलमा अलआउट हुनुअघि २ सय ५६ रनको चुनौतीपूर्ण योगफल खडा गर्यो।
नेपालको यो स्कोरमा ओपनिङ सम्हालेका आसिफ शेखले शतकीय इनिङ खेल्न मात्र ६ रनले चुक्दै उत्कृष्ट ९४ रन जोडे भने युवा ब्याटर अर्जुन कुमालले ४८ रनको दरिलो साथ दिए। दोस्रो विकेटका लागि यी दुई ब्याटरबीच भएको १ सय २३ रनको कीर्तिमानी साझेदारी नै नेपालको इनिङको मेरुदण्ड बन्यो।
मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले ३३ रनको योगदान दिँदा अन्त्यतिर आरिफ शेखले विष्फोटक ब्याटिङ गर्दै मात्र २४ बलमा ४३ रन ठोकेपछि नेपाल प्रतिस्पर्धात्मक अवस्थामा पुगेको हो।
अन्य ब्याटर चल्न नसकेको खेलमा ओमानका लागि नदिम खानले ३ विकेट लिए भने सकिल अहमद र हसनइन साहले २-२ विकेट झारे।
ओमानका जितेन रमानन्दी र अर्यान विसको नाममा १-१ विकेट रह्यो।
