काठमाडौं, भक्तपु र ललितपुरमा आजदेखि विशेष पोलियो खोप अभियान शुरु गर्दैछ ।पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप दिइने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो ।
आजदेखि शुरु हुने अभियान १२ गते शनिवारसम्म चल्नेछ । विश्व स्वस्थ्य सङ्गठनले सन् २०१४ मै नेपाललाई पोलियो मुक्त घोषणा गरेको थियो । पोलियोमुक्त भएको १० वर्षपछि नेपालमा पोलियो भाइरस भेटिएको र यसबारे थप अनुसन्धान र परिक्षण पनि भइरहेको डा। गौतमले बताउनुभयो ।
पोलियो भाइरसबाट संक्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छ । डाक्टरका अनुसार पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने तर, पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने डाक्टरको भनाइ छ ।
