काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि भैरहेका प्रदर्शनलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप हुन सक्ने भन्दै निषेधाज्ञा आदेश जारी गरेका हुन् ।
आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ । त्यस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ । उक्त अवधिमा यस आदेशको उल्लङ्घन गर्ने जोसुकै उपर प्रचलित कानुन बमोजिम कारबाही हुने आदेशमा उल्लेख छ । सहिदचोकआसपास र गैह्रापाटनआसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।
यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि शनिबारदेखि नै पोखरामा नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । लामिछानेलाई जिल्ला अदालतमा म्याद थपका लागि लगिएको छ । त्यस्तै पोखराका सहकारीपीडितले पनि राष्ट्रबैंक चोक नजिकै प्रदर्शनको कार्यक्रम राखेका छन् । यस्तोमा दुवै पक्षबीच झडप हुन सक्ने भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
