नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा-मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने र यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको छ।
वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।
कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरूको सङ्ख्यासमेत बढ्न थालेको छ ।
कुकुर तिहारको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यो दिन सबै पाप नाश गर्न नर्के नुहाउने चलन रहेको छ । यस दिन मासको पात खाने चलन पनि रहेको छ । यस दिन मासको पातको साग खाए मानिसका सबै पाप नाश हुन्छ भन्ने विश्वास रहेको छ । कुकुर तिहारको दिन कुकुरको पूजाआजा गरी खाना खान दिने मानिसहरुलाई पूण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ । त्यसैले कुकुर तिहारको दिनमा आफ्नो घरमा पालेका मात्रै नभई सडकका कुकुरहरुलाई पनि माला लगाइदिइ टिका लगाइदिएर खाना खान दिइन्छ ।
पूजा गरेर माला लगाई खाना खान दिने यस विशेष कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्व दिएको मान्न सकिन्छ । कुकुर तिहारको दिन मानव समाज र कुकुरहरु बीचको प्रगाढ सम्बन्धको अर्चना गरिन्छ । कुकर तिहारको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिसले यमराजबाट दण्ड पाँउछन् भन्ने विश्वास रहि आएको छ । त्यसैले यस दिन विहान सबेरै उठेर नित्यकर्म र स्नान गरिसकेपछि कुकरको पूजाआजा गर्ने चलन छ ।
