नेवा: समुदायले योमह्री पुन्ही मनाउँदै, आजै ज्यापु दिवस

उपत्यकाका नेवा: समुदायले आज हर्सोल्लासका साथ योमरी पुन्ही मनाउँदैछन् । तिहारमा देउसी–भैलो खेले जस्तै टोलभर गाउँदै योमरी माग्ने चलन नेवा:समुदायमा छ ।

सोही परम्पराअनुसार नेवारी गीत गाउँदै बालबालिकादेखि बुढापाकासम्म सहभागी भइ आज दिनभर योमरी मागिन्छ । इष्टमित्र, साथीभाइ, पाहुनालाई बाँडीचुडी खाने र खुवाउने परम्परा रहेको यो पर्वलाई माया, प्रेम, दया र करुणा आदान–प्रदानको रुपमा पनि लिने गरिएको छ ।

योमरी एक विशेष प्रकारको रोटी हो । योमरी पुन्हीका दिन गृहिणीले शुद्ध भएर चामलको पिठो, चाकु, तील, मासु, गुँदपाक, खुवा राखी योमरी बनाउने चलन छ । नेपाल भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी र मिठाइ हो ।

सबैलाई मनपर्ने भएकाले नै यसको नाम ‘योमरी’ राखिएको संस्कृतिविदहरुको भनाइ छ । यसरी बनाइएको योमरीलाई धानका भकारीलगायतमा चढाउने गरिन्छ । यसरी चढाएको योमरी चार दिनपछि मात्र प्रसादका रुपमा बाँडेर खाने चलन छ ।

नेवा: समुदायममा आफैंले उत्पादन गरेको अन्न ढिकुटी पूजा गरेर मात्र खाने चलनअनुसार यो पुन्ही मनाइन्छ ।

आजै २१ औ ज्यापु दिवस हर्षोल्लासका साथ मनाउँदैछन् । पर्व एवम् दिवसको अवसरमा काठमाडौंका ६३ टोलका ज्यापु समुदायले र्‍याली निकाल्ने गर्दछन् । ज्यापु संस्कृतिको रक्षाका लागि विभिन्न कार्यक्रमको आयोजना गरी ज्यापू दिवस मनाइँदैछ । २०६१ सालदेखि योमरी पुन्हीकै दिन यो दिवस मनाउने गरिएको छ । ज्यापु संस्कृति संवद्धनका लागि यसको सन्देश नयाँ पुस्तामा पुर्याउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ ।