सभापति तथा सांसद निलम्बन गर्न सभामुखलाई पत्राचार ,आज कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु हुँदै

काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा मुद्दा खेपेका पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेको आजदेखि बयान सुरु हुँदै छ । यसैबीच प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले संघीय संसद् सचिवालयमा पठाएको पत्रमा सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा सांसद लामिछाने संलग्न रहेको भन्दै निलम्बन गर्न माग गरिएको छ ।

लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार अभियोगपत्र दर्ता भएकाले सांसद पद निलम्बनका लागि कास्की प्रहरीले सभामुखलाई पत्र पठाएको हो । पत्र प्राप्त भएपछि सभामुखले सांसद पद निलम्बन भएकोबारे प्रतिनिधिसभा बैठक चलिरहेको अवस्थामा सभामा जानकारी दिने र अधिवेशन नभएको अवस्थामा सूचना पाटीमा सूचना टाँस्नुपर्ने व्यवस्था रहेको छ ।

हाल प्रतिनिधिसभा अधिवेशन नरहेकाले सभामुखले सूचना पाटीमा सूचना टाँस्न लगाएसँगै लामिछानेको सांसद पद निलम्बन हुनेछ । लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी गरेर आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको थियो ।