काठमाण्डौं महानगरपालिका १५ वडामा रहेको विश्व सम्पदा क्षेत्र स्वयम्भूको धार्मिक स्थल र ऐतिहासिक स्थलको परिचय दिनका निमित्त आगामी ने.सं. ११४५ सिल्लागाः नवमी, शनिबारदेखि चिल्लाथ्वः द्वितीया, शनिबार (फागुन १० – १७ गते) सम्म साताब्यापी रुपमा स्वयम्भू महोत्सव गरिने भएको छ ।
काठमाण्डौं महानगरपालिका १५ वडाका साथमा विभिन्न संघ संस्था तथा क्लबहरुका सहयोगमा हुन लागेको उक्त महोत्सवमा नेपाल संवत्, नेपाल लिपि र नेपालभाषाको पनि प्रयोग गरी महोत्सव गरिने कुरा १५ वडाका वडाध्यक्ष ईश्वर मान डंगोलले जानकारी दिनुभएको छ ।
नेपाल संबत नव वर्ष राष्ट्रिय समारोह समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले आजकल विभिन्न नेवाः बस्तिमा नेवाः संस्कृति, सम्पदा, खानपिन प्रदर्शन गरी महोत्सव गरिदै आएको कार्यक्रमलाई लिई खुसी ब्यक्त गर्नुहुँदै यसरी हुने कार्यक्रममा नेपाल संबतलाई पनि प्रयोगमा ल्याउनुका साथै आफ्ना भाषा, लिपिलाई पनि प्राथमिकता दिनुपर्ने बिचार राख्नु हुँदै वडाध्यक्ष डंगोललाई हिजो आइतबार भेटका क्रममा यस प्रकार महोत्सवमा प्रयोगमा ल्याउन अनुरोध गर्नु भएको हो ।
समारोह समितिका अध्यक्ष श्रेष्ठको उक्त अनुरोधको सन्दर्भमा वडाध्यक्ष डंगोलले महोत्सवमा यसरी नै सबै प्रयोगमा ल्याउने निर्णय भईसकेको र महोत्सवको मूल ब्यानरमा नेपाल संबत रहने कुरा भन्नुभयो ।
विभिन्न नेवाः बस्ति नेवाः क्षेत्रमा महोत्सव गर्ने क्रममा नेपाल संबत, नेपाल लिपि, र नेपालभाषालाई त्यति प्राथमिकता दिएर कार्यक्रम गरिएको नदेखिएकाले नेवार क्षेत्रबाट यसलाई लिएर चासो ब्यक्त गरिदै आएको हो ।
