लगातारको उपाधि खडेरी तोड्ने लक्ष्यमा नेपाल, म्यानमारसँग भिड्दै

काठमाडौं- नेपाली राष्ट्रिय महिला टिम लगातार भोग्दै आएको फाइनल हारको अन्त गर्ने प्रयासमा आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ। चार देश सहभागी अन्तर्राष्ट्रिय च्याम्पियनसिपको फाइनलमा नेपालले म्यानमारको सामना गर्न लागेको हो। खेल साँझ ६ बजे दशरथ रंगशालामा सुरू हुनेछ।

नेपाल अहिलेसम्म खेलेको विभिन्न प्रतियोगिताहरूमा कुल १२ पटक फाइनलमा पुगेपनि सधैं उपाधिविहीन रहँदै उपविजेतामा सिमित हुनुपरेको छ। निरासाजनक फाइनल हारले नेपाली महिला टिमको यो स्वर्णीम पुस्ता उपाधिबिनानै करिअर अन्त हुने चिन्तामा पुगेका छन्।

आफ्नो १३ औं फाइनलमा भने नेपाल फिफा वरियतामा आफूभन्दा ४८ स्थानमाथि रहेको म्यानमारसँग भिड्दै गर्दा घरेलु समर्थक माझ उपाधि उचाल्न चाहन्छ। घरेलु मैदानमा नेपालले चौंथो पटक फाइनल खेल्न लागेको हो। यसअघि नै साफ च्याम्पियनसिपमा ३ र दक्षिण एसियाली खेलकुद सागमा १ पटक घरेलु मैदानमै फाइनल खेल्दा नेपाल पराजित भएको थियो।

सधैं फाइनल पुगेर पराजित भएपछि नेपाली महिला टोलीलाई फाइनलमा हार्ने टोलीको ट्यागलाई भुलाउन सकेको छैन। त्यसोत यो पटक पनि सहज भने हुने छैन। म्यानमारलाई अहिलेसम्म जित्न नसकेको कीर्तिमान पनि बनाउनु पर्नेछ।

नेपाली टिमका कप्तान र प्रशिक्षकले म्यानमारसँग फाइनल खेलका लागि तयार भएको र उपाधि बाहेकको विकल्प आफूले नसोचेको बताएका थिए। फाइनलअघि भएको प्रि-म्याच प्रेस कन्फ्रेन्समा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले लिग चरणका तीनै खेलमा राम्रो प्रदर्शन गरेको बताए। ‘लिग चरणका खेलहरूमा राम्रो प्रदर्शन भयो। अब फाइनलको अन्तिम तयारीमा रहेका छौं,’ उनले भने।

यस्तै, कप्तान एन्जिलाले पनि फाइनलमा सतप्रतिशत जितको प्रयास गर्नै बताइन्। उनले भनिन्,’समग्रमा अहिलेसम्म सबै खेल राम्रो भएको छ। सबैले खेलाडीहरूले राम्रो खेलिरहनु भएको छ। अब उपाधिका लागिनै फाइट गर्ने हो।’

नेपाल र म्यानमारको यस्तो छ ‘हेड टु हेड’
नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपमा ६ पटक, दक्षिण एसियाली खेलकुद सागमा ३ पटक, हिरो गोल्डकप, नादेज्दा कप र वाफ च्याम्पियनसिपमा एक-एक पटक फाइनल खेलेको छ। १२ पटक फाइनल खेल्दा नेपाल सधै निरासाजनक उपविजेतामा सिमित भएको छ।

नेपालको महिला टोलीले म्यानमारसँग अहिलेसम्म ५ खेल खेलेपनि जितविहीन छ। म्यानमारले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको थियो। यही श्रंखलामा यी दुई टोलीबीच समूहचरणको अन्तिम खेलमा भएको भिडन्त २-२ गोलको बराबरीमा सकिएको थियो। यसअघि सन् २०१८ मा नेपाल र म्यानमार पहिलो पटक एसियाली क्षेत्रको ओलम्पिक छनोटको भिडेका थिए । जहाँ नतिजा थियो १-१ भएको थियो।

सन् २०१९ मा भारतमा भएको हिरो गोल्डकपमा पनि नेपाल र म्यानमारबीच दुई खेल भएको थियो। समूह चरणमा ३-० ले पराजित भएको नेपालले फाइनलमा एक गोल गरेपनि ३-१ ले पराजित भयो। यस्तै २०१९ मै भएको एसियाली क्षेत्रको ओलम्पिक छनोटको दोस्रो चरणमा नेपाल म्यानमारसँग ३-१ ले नै पराजित भएको थियो। अहिलेसम्म नेपाल र म्यानमारबीचको पाँच खेलमा म्यानमारले १२ गोल गरेको छ भने नेपाल ५ गोल फर्काएको छ। एक खेलमा भने नेपालले म्यानमारविरुद्ध गोल गर्न सकेन।

नेपाल र म्यानमार अन्तर्राष्ट्रिय फुटबलको फाइनलमा खेल्न लागेको पनि यो दोस्रो पटक हो। यसअघि सन् २०१९ मा भारतमा भएको हिरो गोल्डकपको फाइनलमा दुई टिमबीच प्रतिस्पर्धा हुँदा म्यानमार ३-१ ले विजयी भएको थियो।