काठमाडौंका मेयर बालेन साहले छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै उपप्रमुख सुनिता डंगोलले असन्तुष्टि व्यक्त गरेकी छन्। पछिल्लोपल्ट प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरी फेसबुकमा स्टाटस लेखेका थिए।
बालेनले प्रधानमन्त्री ओली आफूलाई हराउन लागेको आरोप उक्त स्टाटसमा लगाएका थिए। उपप्रमुख डंगोलले भने आफ्नो कर्तव्य पूरा नगर्ने अनि अरूलाई आरोप लगाउने कुरा उचित नभएको भनी बालेनतर्फ नै प्रश्न उठाएकी छिन्।
‘छानबिन समितिले के गर्ने भन्ने टुंगो नलगाउञ्जेलसम्म केन्द्र सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई दोष लगाउने, कारबाही गर्ने वा उहाँको सट्टामा नयाँ प्रशासकीय अधिकृत किन नपठाएको भन्दै निरन्तर आरोप लगाउने कुरा ठिक होइन,’ उनले भनिन्, ‘आफ्नो कर्तव्य पूरा नगर्ने अनि अरूलाई आरोप लगाउने कुरा उचित होइन भन्ने लाग्छ ।’
‘त्यो समग्र प्रक्रियामा एक जना व्यक्तिको मात्रै सहभागिता हो कि अरूको पनि छ भन्ने पत्ता लगाएर उनीहरूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ,’ उनले भनिन्, ‘यो संगठित भ्रष्टाचार हो कि भन्ने पनि आशंकाहरू देखिए भने त्यस उपर पनि छानबिन गरी कारबाही हुनुपर्छ भनेर पहिला पनि भनेकी थिएँ। अहिले पनि मेरो भनाइ यही छ।’
उनले प्रमुख प्रशासकीय अधिकृतको कैफियत देखिएमा तुरून्तै उनलाई कामपाको जिम्मेवारीबाट मुक्त गरिनु पर्दछ र यसमा अरु क–कस्को संलग्नता छ त्यो पनि निष्पक्ष छानबिन गर्नुपर्छ भन्दै यदि यो विषयमा संगठित भ्रष्टाचार भएको रहेछ भने त्यस उपर पनि कारबाही हुनुपर्ने बताइन्।
