इन्डियन प्रिमियर लिगको १८ औं संस्करण आजबाट सुरु हुँदै छ। प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइटराइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) बीच हुने छ।
आइपिएलमा कति टिम खेल्दै छन्?
यो पटक आइपिएलमा १० टिमले भाग लिँदै छन्। बीसीसीआईले २०२२ मा ८ टिमबाट बढाएर १० टिम बनाएको छ। त्यसयता हरेक संस्करणमा १० टिमले खेल्दै छन्। यो पटक पनि १० टिमलेनै सहभागिता जनाएका छन्।
कुन समूहमा कुन टिम?
१० टिमलाई ५-५ वटा टिमको दुईवटा समूह बनाएर प्रतिस्पर्धा गराइँदै छ। हरेक टिमले आफ्नो समूहमा एकअर्काविरुद्ध २-२ पटक प्रतिस्पर्धा गर्दा दोस्रो समूहका ४ टिमसँग १-१ खेल खेल्नु पर्नेछ भने पाँचौ टिमसँग २ खेल खेल्नु पर्नेछ।
समूह ‘ए’ मा सिएसके, केकेआर, आरआर, आरसीबी र पञ्जावले एकअर्काविरुद्ध २-२ खेल खेल्नु पर्ने हुन्छ। यस्तोमा चेन्नइले दोस्रो समूहमा रहेको मुम्बईविरुद्ध २ खेल खेल्दा बाँकी टिमहरु हैदराबाद, गुजरात, दिल्ली र लखनउसँग १-१ खेल खेल्नु पर्ने हुन्छ।
यी मैदान जहाँ हुँदै छन् खेल, सर्वाधिक खेल कुन मैदानमा?
यो पटक आइपिएलका खेलहरु १३ मैदानमा हुनेछन्। १० टिमको घरेलु मैदानबाहेक बाँकी ३ टिमका सब्सटिच्युट भेन्युमा पनि खेल गराइने छ।
गुवाहाटी राजस्थान रोयल्सको दोस्रो होम ग्राउन्ड हो। यो मैदानमा २ खेल हुनेछन्। त्यस्तै, धर्मशाला पञ्जाव किंग्सको दोस्रो होम ग्राउन्ड हो, यो मैदानमा ३ खेल खेलाइने छ।
त्यस्तै, विशाखपट्टनम दिल्ली क्यापिटल्सको दोस्रो होम ग्राउन्ड हो। यसमा २ खेल खेलाइने छ। बाँकी सबै खेल उनीहरुको पहिलो घरेलु मैदानमा हुनेछन्।
प्रतियोगितामा सर्वधिक धेरै खेल कोलकाताको इडेन गार्डेन र हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछन्। यी मैदानमा ९-९ खेल हुनेछन्। ७ होम खेलबाहेक यी मैदानमा २-२ वटा प्लेअफ खेल हुनेछन्।
आइपिएलको परम्पराअनुसार ओपनिङ र फाइनल साविक विजेताको घरेलु मैदानमा हुनेछ। यसको अर्थ कोलकाताको इडेन गार्डेनमै फाइनल हुनेछ।
प्रतियोगिता केमा हेर्ने?
प्रतियोगिताको ब्रोडकास्टिङ अधिकार जियोहटस्टारसँग रहेको छ। भारतीय दर्शकले टिभीमा स्टार स्पोर्टस, स्पोर्टस-१८ तथा ओटीटी प्लेटफर्ममा जियोहस्टारमा अनलाइन खेल हेर्न पाउनेछन्। साथै विभिन्न अनलाइन प्लेटफर्महरुमा लाइभ स्कोर अबडेट प्राप्त गर्न सक्ने छन्।
