पूर्वराजा ज्ञानेन्द्र शाहलेले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेको छ। गत शुक्रबार तीनकुनेमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोटको मूल्याङ्कन गरी महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो ।
उक्त पत्र लिएर निर्मल निवास पुगेको महानगरपालिकाको टोलीलाई त्यहाँबाट फिर्ता पठाइएको छ ।
महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँको जरिवानाको पत्र काटेको छ। शनिबार शाहलाई सम्बोधन गर्दै महानगरका नगर प्रहरी निरीक्षक ईश्वरप्रसाद वाग्लेले ७ लाख ९३ हजार रुपैयाँको जरिवाना पत्र काटेका हुन्।
जसअनुसार घरमा लागेको आगो निभाउन गएको दमकलमाथि ढुङ्गा प्रहार गरेर क्षति गरेको भन्दै १ लाख ३० हजार, कोटेश्वरमा फोहोर गरी वातावरण प्रदूषित गरेको भन्दै १ लाख, जडीबुटी, तीनकुने, बालकुमारी, सिनामङ्गल र महादेवस्थानमा पनि फोहोर गरी वातावरण विगारेको भन्दै एक/एक लाख रुपैयाँ जरिवाना तोकिएको छ।
यसैगरी तीनकुने क्षत्रमा रुख, विरुवा, रेलिङ तोडफोड गरेको शीर्षकमा ४० हजार र तीनकुनेको आईल्याण्ड (ट्राफिक उभिने ठाउँ) तोडफोड ८ गरेको भन्दै रु २३ हजार जरिवाना महानगरले तोकेको छ।
महानगरको गाडी पूर्व राजा ज्ञानेन्द्रको बस्ने निर्मल निवास गेट अगाडि पुगेर फर्किएको छ । पूर्वराजाको सचिवालयले उक्त कार्यक्रमको आयोजक निर्मल निवास नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको हो। निर्मल निवासले पत्र बुझ्न नमानेकोले अब महानगर प्रक्रियामा अघि बढ्ने जनाइएको छ।
