काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । शनिवार राजावादी शक्तिहरुले दरबारमार्गमा प्रदर्शन गर्ने भनेलगत्तै जिल्ला प्रशासनले भोलिदेखि नै लागु हुनेगरी असार २४ गतेसम्म निषेधित क्षेत्र घोषित गरिएको सूचना जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा दरवारमार्ग,केशरमहल,जयनेपाल हल क्षेत्रमा ५जनाभन्दा बढी जम्मा हुन र नारा जुलुस धर्ना लगायतका कार्यक्रम गर्न निषेध गरिएको उल्लेख छ ।
उक्त क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ।
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजसंस्था पक्षधरहरूले बिहीबारदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन्। पहिलो दिन बिहीबार रत्नपार्कमा प्रदर्शन गरेका उनीहरूले आज माइतीघरदेखि नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए।
उनीहरूले तेस्रो दिनको आन्दोलनका कार्यक्रम दरबारमार्गमा हुने घोषणा गरेका थिए। तर आन्दोलनको अघिल्लो दिन प्रशासनले दरबारमार्ग आसपास निषेधित क्षेत्र घोषणा गरेको हो।
