काठमाडौं। नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध टी–२० त्रिकोणात्मक सिरिजमा रोमाञ्चक जित हासिल गरेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्ड १९ ओभर ४ बलमा ९७ रनमा रोकिएको हो । नेपाली बलरसामु चलेन स्कटल्याण्डका माइकल लिस्कबाहेक अन्य ब्याटर खुलेर खेल्न सकेनन् ।
माइकल लिस्कले सर्वाधिक ४७ रन बनाए । बलिङमा नेपालका स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । ४ ओभर बलिङ गरेका सन्दीपले ११ रन खर्चेर ४ विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले २-२ र ललित राजवंशीले एक विकेट लिए ।
मंगलबार सम्पन्न खेलमा नेपाल २ विकेटले विजयी भएको हो। योसँगै सिरिजमा स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सले समान २ अंक पुर्याएका छन्। नेटरनरेटमा स्कटल्यान्ड शीर्ष र नेपाल दोस्रो स्थानमा छ।
स्कटल्यान्डले दिएको ९८ रनको सामान्य लक्ष्य पूरा गर्न नेपाललाई १९.५ ओभरसम्म कुर्नुपर्यो। अन्तिम ओभरमा नेपाललाई जितका लागि ४ रन चाहिएको थियो।
सफायान शरिफको सुरुआती ३ बलमा करणले २ र किरण ठगुन्नाले १ रन लिए। तर, चौथो बलमा किरण क्याच आउट भए। योसँगै खेल पुन: सुपर ओभरतर्फ जाने देखिएको थियो। तर, पाँचौं बलमा सन्दीप लामिछानेले १ रन लिँदै नेपाललाई पहिलो जित दिलाए।
