नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका छन्।
उनीहरूले न्युरोड जुद्धशालिक बाट र्याली सुरु गरेर इन्द्रचोक, जनबहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, सहिद गेट, न्यूरोड गेट, जुद्धशालिक हुँदै पुरानो नगरपालिकामा कोणसभा गरेका थिए।
आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायी आन्दोलित बनेका हुन् ।
यसअघि पनि आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीले ५ असारदेखि आन्दोलन स्थगित गरेका थिए ।
सरकारले बजेट संशोधनको बेला माग सम्बोधन गर्ने आश्वासन दिएसँगै आन्दोलन स्थगित गरेका उनीहरू माग पूरा नभएपछि पुनः आन्दोलनमा उत्रिएका हुन् ।
विगतमा १० लाखभन्दा माथिका सुनका गहनामा मात्रै विलासिता शुल्क लाग्ने थियो । तर, अहिलेको बजेट मार्फत अब जुनसुकै मूल्यका सुन वा सुनका गहनामा विलासिता शुल्क लाग्न थालेको छ ।
