नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडलाई कारबाही गरेको हो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंक तथा वित्तीय संस्था नियमन विभागबाट प्रेषित निर्देशनविपरीत बैंकका प्रमुख कार्यकारी अधिकृतको करार सम्झौतामा संशोधन गरी प्रमुख कार्यकारी अधिकृतको सुविधा वृद्धि गरेको पाइएको छ । ‘सिटिजन्स फास्ट ट्रयाक लोन’ अन्तर्गत कर्जाको उपयोगको सम्बन्धमा आन्तरिक लेखापरीक्षकबाट विस्तृत अध्ययन गर्न दिइएको निर्देशनको पालना नगरेकोले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिलाई राष्ट्र बैंकले सचेत गराइएको छ ।
सिटिजन्स बैंकले ब्याजदर अन्तरको गणना गलत तरिकाबाट गरेको समेत राष्ट्र बैंकले जनाएको छ । यस बैंकले नयाँ कर्जा प्रवाह गरी पुरानो कर्जा तथा ब्याज चुक्ता गरेको, दाबी परेका बैंक जमानतको भुक्तानी यस बैंकबाट जारी एकीकृत निर्देशन तोकिएको समयवाधिभित्र नगरेको र लामो समयसम्म निरन्तर अस्थायी रूपमा म्याद बढाइएका कर्जाहरूमा ‘एजिङ वाइज’ कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको छ ।
राष्ट्र बैंकबाट जारी चालु पुँजी सम्बन्धी मार्गदर्शनमा भएका व्यवस्थाहरूको पूर्णरूपमा पालना नभएको, तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाको गलत रिर्पोटिङ्ग गरेकोले सिटिजन्स बैंकलाई कारबाही गरिएको हो । यसबारे राष्ट्र बैंकले सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत समेत गराएको छ ।
त्यस्तै, राष्ट्र बैंकले तत्कालीन समयमा जारी गरिएको एकीकृत निर्देशनमा उल्लेख भएको व्यवस्था विपरीत ऋणीबाट बढी ब्याज असुल गरेको पाइएको जनाएको छ । ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौता पत्रमा कर्जाको प्रकार, लागू हुने ब्याजदर (स्थिर/परिवर्तनीय), किस्ता सम्बन्धी व्यवस्था लगायतका व्यवस्था बमोजिम सरल एवं स्पष्ट भाषामा यस बैंकले उल्लेख गरेको थिएन । ब्याजदर परिवर्तन गरेको जानकारी ऋणीलाई नदिएको देखिएकाले एनआईसी एशिया बैंक लिमिटेडलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
