सन्दीपकाे उत्कृष्ट बलिङमा नेपालकाे जित

काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारमाथि रोमाञ्चक जित निकालेको छ ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा समेटियो । कतारसामु नेपाली बलरले शानदार प्रदर्शन गरे ।

कुनै समय जिततर्फ लम्बिएको कतारलाई नेपाली बलरले रोक्न सके । स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । ३.५ ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेर ५ विकेट लिए ।

१ सय ४८ रनको लक्ष्य पछ्याएको कतारले राम्रो सुरुवात गरेपनि पछिल्लो क्रम लगातार विकेट पतनको सिकार हुँदा अन्तिम बल अगावै १ सय ४२ रनमा अलआउट भयो। उसका लागि इमाम लियानागेले अर्धशतकीय इनिङ खेले। उनले ३५ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५६ रन बनाए। उनी र जुबाइर अली बिच पहिलो विकेटका लागि ७९ रनको साझेदारी भएको थियो। अलीले खेललाई अन्तिम सम्म लाने प्रयास गरेपनि उनले गतिलो साथ पाएनन अन्तत उनी ५२ रनको अवस्थामा १८ औं ओभरमा आठौं विकेटका रुपमा नन्दन यादवको बलमा पेभिलियन फर्किए।

यि दुइ बाहेक थप दोहोरो स्कोरका रुपमा मुहम्मद असिमले १० रन बनाए। पछिल्लो क्रमका अन्य कुनै पनि ब्याटरले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। नेपालको जितमा सन्दीप लामिछाने निर्णायक बने। उनले महत्वपूर्ण ५ विकेट लिंदा नन्दन यादवले २ तथा दिपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे। जितसँगै नेपाल तेस्रो पटक टी-२० विश्वकप खेल्ने संघारमा पुगेको छ। नेपाल सुपर सिक्समा अपराजित रहँदै ६ अङ्क बनाएर तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भयो।