धनुषामा बसको ठक्करबाट अटोरिक्सामा सवार चार जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम- धनुषामा यात्रुबाहक बसले अटोरिक्सालाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ ।

शनिबार सँझ करिब साढे ६ बजेको समयमा विराटनगरबाट धनगढी तर्फ जाँदै गरेको सु.प्र ०१-००१ ख ३२८८ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई ठक्कर दिँदा अन्य दुई जना घाइते समेत भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गणेशमान चारनाथ नगरपालिका १ वीरेन्द्र बजारमा भएको दुर्घटनामा गणेशमानचारनाथ ४ बस्ने ४० वर्षीय रमेश मगर, ३५ वर्षीया निशा मगर, ३५ वर्षीय शम्भु मगर र अटोरिक्सा चालक डम्बर राईको मेत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, दुर्घटनामा परेर घाइते भएकी १४ वर्षीया शीतल मगर र ९ वर्षीय रोशन मगरको जनकपुरधामस्थित न्यूरो अस्पतालमा भइरहेको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।