बाराको सिमरामा जेन–जी युवा र एमाले समर्थकबीच झडप, बेलुका ८ बजेसम्म कर्फ्यु

काठमाण्डाै – बारामा रहेको सिमरा विमानस्थल आसपास क्षेत्रमा जेन–जी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ ।

दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्म लागि कर्फ्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । प्रजिअ मिश्रले जारी गर्नुभएको सूचना अनुसार गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यु आदेश जारी भएको छ ।

दुई समूहबीच झडप हुँदा अवस्था तनावपूर्ण बनेको छ । एमाले महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेत बाराको परवानीपुरमा हुने भनिएको कार्यक्रममा सहभागी हुन सिमरा विमानस्थल हुँदै जान लागेको सूचना पाएपछि जेन–जी युवाहरूले प्रदर्शन गरेका हुन् । विमानस्थलमा एमाले समर्थित युवाहरू पनि पुगेपछि झडप भएको हो ।

यसैबीच सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आजका लागि निर्धारित सबै उडान रद्द गरिएको छ । कर्फ्यु आदेश जारी भएका कारण आजका लागि निर्धारित उडानहरू रद्द गरिएको काठमाण्डाै विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो ।