साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन बुधबार ९.६१ अंकले बढेको नेप्से परिसूचक आज १०.४३ अंकले बढेर २६७६.०३ विन्दुमा पुगेको छ।
कारोबार रकम भने बुधबारको तुलनामा कमी आएको छ। सो दिन ६ अर्ब ६९ करोडको सेयर कारोबार भएकोमा आज ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ रुपैयाँमा खरिदबिक्री भए।
आज ३३३ स्क्रिप्सको १ करोड ४६ लाख ९३ हजार ८०७ कित्ता सेयर खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १३१ स्टक्सको मूल्य बढ्दा १२१ वटाको घट्यो। ६ स्टक्सको मूल्य भने स्थिर रह्यो।
दोहोरो अंकले बढेको सेयर बजारमा चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सागर डिष्टिलरी,स्वस्तिक लघुवित्त वित्तीय संस्था,झापा इनर्जी र श्रीनगर एग्रिटेकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४० करोड मूल्य बराबरको सेयर कारोबार भयो।
नगदी ग्रुपले १६ करोडको सेयर कारोबार गर्दा हिमालयन रिइन्स्योरेन्सले र सीईडीबी होल्डिंग्सले १५/१५ करोड मूल्य बराबरको सेयर कारोबार गरे। युनाइटेड मोदी हाइड्रोपावरले १४ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।
पाँच समूहको उपसूचक बढ्दा ८ समूहको उपसूचक नकारात्मक देखिए। आज बैंकिङ समूहको उपसूचक सर्वाधिक १.४९ प्रतिशतले बढ्यो।
