ज्यापू दिवस’ले पेशामार्फत समृद्धि, प्रकृति, संस्कृति, उद्यम र उद्यमीप्रति सम्मानको सन्देश दिएको उपप्रमुख डंगोलको भनाइ

काठमाडौँ, मंसिर १९ । ज्यापू दिवसका कार्यक्रम मनाइरहँदा यसले दिएको सामाजिक, सांस्कृतिक र प्रकृतिप्रति आभार प्रकट गरेको सन्देश विर्सनु नहुने बताउँदै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, उद्यम र उद्यमीप्रति सम्मान गर्ने हाम्रो मौलिक संस्कारको बेजोड महत्व रहेको बताउनुभएको छ । ज्यापू सांस्कृतिक विकास कोषले २२ औँ ज्यापू दिवसका अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘सबैले मिठो मानेर खाने गरिएको यमरी केवल खानेकुरा मात्र होइन । ज्यापूहरुले प्रकृति र समृद्धिप्रति दर्शाउने समर्पण भावको प्रतीक हो । परम्परा मात्र होइन, पहिचान हो । माटोले प्रदान गरेको अन्नप्रति आभार प्रकट गरिने मौलिक परम्परा हो ।’

उहाँले भन्नुभयो, ‘हरेक पूर्णिमाको विशेष महत्व हुन्छ । त्यसमा पनि यमरी पुन्ही अझ विशेष महत्वको मानिन्छ । मानव समाजको अस्तित्व कायम राख्न प्रकृति, पेशा, उब्जनीसँग समृद्धि र पारिवारिक एकता जोडिने दिन भएकोले यसको विशेष महत्व भएको हो ।’

‘झाँकी, बाद्यबादन, रहनसहनले प्रदर्शन गरेको अस्तित्व स्वीकार गर्नुपर्छ । यस बर्ष फलेको धानबाट बनाइएको परिकार अन्नपूर्णलाई चढाउने परम्पराको दर्शन ग्रहण गर्नुपर्छ । बर्षभरि नै अन्नको अभाव नहोस् भन्ने कामनालाई माटोसँग जोडेर हेर्ने परम्पराको सामाजिक सन्देश ग्रहण गर्नुपर्छ ।’ उहाँको भनाइ थियो ।