३१औँ महानगर दिवसमा काठमाडौंका परम्परागत बाजा गुरूहरूको सम्मान

काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन विभागले ३१औँ महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाका परम्परागत बाजा सिकाउने गुरूहरूलाई सम्मान गरेको छ । हिजो काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत, विभिन्न वडाका वडाअध्यक्ष लगायतले गुरूहरूलाई सम्मान गरेका हुन् ।

सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले बाजा गुरुहरुको सम्मानले अमूर्त सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । “बादन संस्कारले मूर्त सम्पदालाई जीवन्त बनाएको छ, र यो परम्परा बाजा गुरुहरुकै कारण जोगिएको हो,” उनले भने, ।

कार्यक्रममा समितिका सदस्य एवं वडा नम्बर १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले बाजा गुरुहरुले अरु अवसर त्याग गरेर संस्कृतिको संरक्षण गरेको उल्लेख गर्दै महानगरपालिका गुरुहरुप्रति सधैँ अनुग्रहित रहेको बताए । वडा नम्बर १६ का अध्यक्ष रोजिना श्रेष्ठले परम्परागत बाजा गुरुहरुको सम्मान गर्न पाउँदा महानगरलाई गर्व महसुस भएको धारणा राखे ।

ज्यापु महागुथि नेपाः, येँ महानगर समितिका अध्यक्ष पञ्चनारायण महर्जन, नेपाल खड्गी सेवा समितिका अध्यक्ष रञ्जिता खड्गी, गुंलाबाजं व्यवस्थापन तथा संरक्षण समितिका अध्यक्ष अमिरमान शाक्यलगायत वक्ताले गुरुहरुलाई सम्मान गरेपछि राज्यबाट संरक्षण पाएको अनुभूति भएको बताए। साथै बाजागाजा उपलब्ध गराउने, बजाउने तालिम र धार्मिक–सामाजिक कार्यमा बादन संस्कारलाई प्रवर्धन गर्न महानगरपालिकाको अझ सशक्त अभिभावकत्वको अपेक्षा व्यक्त गरिएको थियो।

कार्यक्रममा विषयगत समितिका संयोजक, कार्यपालिका सदस्य, जनप्रतिनिधि तथा बाजा गुरु सिफारिस गर्ने संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

उल्लेखनीय छ, १९९६ पुस ३ गते स्थापना भएको सफाइ अड्डालाई काठमाडौँ महानगरपालिकाको संस्थागत इतिहासको जग मानिन्छ। विसं २०५२ मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको थियो र यही दिनलाई महानगर दिवसका रूपमा मनाइँदै आएको छ । दिवसको अवसरमा आज प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न हुनुका साथै नारायणचौरमा रैथाने मौलिक खाद्य स्वच्छता मेला आयोजना गरिएको छ ।