क्रिकेट खेलाडी मिनस थापाको सवारी दुर्घटनामा मृत्यु

विराटनगर- कोशी प्रदेश तथा होराइजन क्रिकेट क्लबका खेलाडी मिनस थापाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरंगका अनुसार बुधबार मध्यराति करिब साढे १२ बजे विराटनगर ४ स्थित नहरको बाटोमा मोटरसाइकल दुर्घटनामा थापाको मृत्यु भएको हो ।

विराटनगर विमानस्थल नजिकबाट नहरको बाटो गणेश चौकस्थित घर जाने क्रममा २७ वर्षीय थापाले चलाएको प्रदेश १ ०२ ०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

थापाले गएको वर्ष काठमाडौंमा सम्पन्न राष्ट्रिय टी २० क्रिकेटमा गण्डकी प्रदेशविरुद्ध सर्वाधिक ४३ रन बनाएका थिए । विकेटकिपिंग, बलिंग र ब्याटिंगमा समेत पोख्त थापाले पछिल्लो १० वटा प्रदेशस्तरीय राष्ट्रिय खेलमा १ सय ४६ रन बनाएका छन् ।

उनले गतवर्ष विराटनगरमा सम्पन्न कोशी प्रदेश मुख्यमन्त्री कप क्रिकेटमा समेत उच्च प्रदर्शन गरेको प्रशिक्षक राजेश पोखरेलले जानकारी दिए।