काठमाडौं । गत शनिबार प्रतिभा साहित्य समाजको आयोजनामा पेजथ्री पाक्षिकका सम्पादक दर्शनवीर शाक्यले नेपालभाषा साहित्यमा देखिँदै आएको ‘जेन–जी’ पुस्ताको साहित्यिक गतिविधि र त्यसको अवस्था बारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा ९ जना वक्ताहरूले जेन–जी साहित्यको सम्भावना, स्वीकार्यता र भावी पुस्तासँगको सम्बन्धबारे धारणा राखेका थिए।
उक्त कार्यपत्रमा दर्शनवीर शाक्याले प्राचीन कालदेखि आधुनिक युगसम्मको नेपालभाषा साहित्यको इतिहास प्रस्तुत गर्दै राज्यस्तरबाट नेवार समुदायमाथि भएको दमन र त्यसले साहित्यमा पारेको असरका तथ्य स्पष्ट गर्नुभयो। वि.सं. २०२२ मा रेडियो नेपालबाट नेपालभाषाको समाचार प्रसारणमा प्रतिबन्धलाई उहाँले नेपालभाषा साहित्यको “कालो दिन” का रूपमा स्मरण गर्नुभयो। २००८ ईस्वीपछि राजतन्त्रको अन्त्य र लोकतान्त्रिक व्यवस्थाको पुनःस्थापनापछि नेपालभाषा प्रवद्र्धनमा केही सहजता आएको उहाँले उल्लेख गर्नुभयो।
आधुनिक समयमा पुस्तक प्रकाशन र प्रवद्र्धनमा लेखकहरू आर्थिक समस्यासँग जुधिरहेको सन्दर्भमा, उहाँले सामाजिक सञ्जालको प्रभावलाई विशेष रूपमा उठान गर्नुभयो। उजं शाक्य, कुमाः सागर, निभा डंगोल, रोजमान र आशुतोष बराहीजस्ता नयाँपुस्ताले गीतकारका रुपमा र ख्यालः विधाः मार्फत सामाजिक सञ्जालमा असाधारण लोकप्रियता हासिल गरेको उदाहरण प्रस्तुत गर्दै, परम्परागत लेखकहरूले वर्षौँमा बेच्न नसक्ने पुस्तक संख्याभन्दा बढी दर्शक यी सिर्जनाहरूले केही दिनमै पाएको बताउनुभयो। यसले नेपालभाषा साहित्यको स्वरूपमा आएको परिवर्तनतर्फ लेखकहरूले गम्भीर रूपमा सोच्नुपर्ने निष्कर्ष उहाँको थियो।
साहित्य फल्चा दबू कार्यक्रम शाक्य सुरेनको सञ्चालनमा र डा. पुष्पराज राजकर्णिकारको अध्यक्षतामा भएको थियो। प्रस्तुतिमाथि नारद बज्राचार्य, सुशिला शाक्य, धर्मकृष्ण सिकर्मी, किरण शाक्य, नरेशवीर शाक्य, बंशीधर बज्राचार्य, राजभाइ जकःमि, राजु महर्जन, महेन्द्रलाल महर्जन तथा राजेश बज्राचार्यले टिप्पणी राखेका थिए। करिब दुई घण्टाको छलफलमा नेपालभाषा साहित्यका वर्तमान प्रवृत्ति र भावी दिशाबारे नयाँ आयाम खोलिदिएको सहभागीहरूको भनाइ थियो।
छलफलमा स्थापित लेखक र नयाँ पुस्ताबीचको दूरीलाई स्वीकार गर्दै, पहिले नयाँ पुस्ताको रुचि र चाहनालाई बुझ्नुपर्नेमा जोड दिइयो। पुरानो पुस्ताले मार्गचित्र तयार नगरे नेपालभाषा साहित्यले भविष्यमा ठूलो चुनौती भोग्न सक्ने चेतावनी पनि दिइयो। बाल तथा युवा साहित्यपछि अब ‘जेन–जी’ साहित्यलाई पनि गम्भीर रूपमा सम्बोधन गरिनु पर्ने निष्कर्ष निकालिएको थियो।
कार्यपत्रमा ‘जेन–जी’ साहित्यको मूल मर्म स्रोत (मुहान) प्रति सम्मान राख्दै प्रविधि र डिजिटल माध्यमसँगै समयअनुसार अघि बढ्नु रहेको बताइएको थियो। राजनीतिक असन्तुष्टि र युवाको आर्थिक समस्या जेन–जीको उदयसँग गाँसिएको र यसको प्रभाव साहित्यमा पनि देखिन थालेको विश्लेषण प्रस्तुत गरिएको थियो।
।
समापनमा सम्पादक दर्शन वीर शाक्यले आफू ‘जेन–जी एक्स’ पुस्तामा पर्ने र वास्तविक जेन–जी साहित्यको सुरुआत भर्खरै भएको र यसले भविष्यमा आशा र सम्भावना बोकेको बताउनु भयो।
