वुद्ध जयन्तीको अवसर पारेर काठमाडौँ–१९ कंकेश्वरीमा १५ फिटे बुद्ध मूर्ति स्थापना

काठमाडौँ महानगरपालिका–१९ कंकेश्वरीमा सामुदायिक सहभागितासहित नयाँ सार्वजनिक स्थलको रूपमा ‘बुद्ध पार्क’ स्थापना गरिएको छ, जहाँ आकर्षक सिंहशैय्यासन शैलीको प्रस्तर बुद्ध मूर्ति राखिएको छ। करिब १५ फिट लामो उक्त मूर्ति ४ फिट अग्लो आसनमा स्थापित गरिएको छ, जसले क्षेत्रलाई धार्मिक मात्र नभई सामाजिक र सांस्कृतिक गतिविधिको केन्द्र बनाउने अपेक्षा गरिएको छ।

२५७०औँ बुद्ध जयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा वडाध्यक्ष राजेशकुमार श्रेष्ठले मूर्तिको सार्वजनिक उद्घाटन गर्दै पार्कलाई सबै उमेर समूहका लागि उपयोगी बनाउने योजना रहेको बताए। उनका अनुसार करिब २८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको यो परियोजनाले स्थानीय बासिन्दालाई खुला, शान्त र समावेशी वातावरण उपलब्ध गराउने लक्ष्य राखेको छ।

कार्यक्रमअघि स्थानीय समुदायले अस्थिधातु यात्रा निकाल्दै विभिन्न स्थान परिक्रमा गरेका थिए भने नमूना विहारमा पुगेर बुद्धको पूजाआराधना पनि गरिएको थियो।

वडाध्यक्ष श्रेष्ठले संरचना निर्माणभन्दा यसको दीर्घकालीन संरक्षण र व्यवस्थापन चुनौतीपूर्ण हुने उल्लेख गर्दै पार्कको जिम्मेवारी स्थानीय समुदायसँग सहकार्यमा अघि बढाइने बताए।