एसइई नतिजा प्रकाशनको तयारी पूरा, वैशाख २८–२९ मा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। चैत १९ देखि २९ गतेसम्म सम्पन्न भएको परीक्षाका सम्पूर्ण उत्तरपुस्तिका जाँच कार्य सम्पन्न भइसकेको छ भने हाल टेबुलेसनको काम तीव्र रूपमा भइरहेको बोर्ड स्रोतले जनाएको छ।

बोर्डका अनुसार, वैशाख २८ वा २९ गतेभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ। “सबै उत्तरपुस्तिका जाँच सकिएको छ, अहिले टेबुलेसनको काम भइरहेको छ। निर्धारित समयमै नतिजा प्रकाशन गर्छौं,” स्रोतले जनाएको छ।

यसअघि एसइईको नतिजा परीक्षा सकिएको करिब तीन महिनापछि सार्वजनिक हुने गरेको थियो। तर यस वर्ष बोर्डले प्रक्रिया छिटो पार्दै करिब एक महिनामै नतिजा सार्वजनिक गर्न लागेको हो, जसले विद्यार्थी र अभिभावकमा उत्सुकता थपिएको छ।

यस वर्षको एसइई परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका थिए।