टी-२० विश्वकप: वेस्टइन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

नेपालले टी-२० विश्वकपअन्तर्गत वेस्टइन्डिजविरुद्धको आफ्नो तेस्रो खेलमा पहिले ब्याटिङ गर्ने भएको छ। वेस्टइन्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो।

आज नेपालले टोलीमा एक परिवर्तन गरेको छ। सोमपाल कामीलाई प्लेइङ ११ मा समेट्दा ललित राजवंशीलाई बेन्चमा राखिएको छ। खेल केही बेरपछि मुम्बईको वानखेडे मैदानमा सुरु हुनेछ।

नेपाल यसअघिको उतारचढावलाई बिर्सेर वेस्टइन्डिजविरुद्ध मैदान उत्रिने प्रयास गर्नेछ। तर इंग्ल्यान्डविरुद्धको सनसनीपूर्ण प्रदर्शन र इटालीसँगको अस्वाभाविक हारले नेपाल स्वाभाविक रूपमा दबाबमा रहेको छ।

वेस्टइन्डिजविरुद्ध नेपालले गत सेप्टेम्बरमा यूएईको शारजाहमा पहिलो पटक कुनै टेस्ट टोलीविरुद्ध तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो। जहाँ नेपालले इतिहासमै पहिलो पटक टेस्ट टोलीमाथि २-१ ले ऐतिहासिक शृंखला जितेको थियो। त्यो टोलीका केवल दुई खेलाडी-हुसैन र जेसन होल्डर-मात्र अहिलेको वेस्ट इन्डिज टोलीमा छन्।

वेस्टइन्डिजले धेरै नयाँ खेलाडीलाई मौका दिँदा हुसैनले नेपालविरुद्धको खेलमा कप्तानी गरेका थिए। यस पटक भने वेस्टइन्डिजको फर्म बेजोड छ। उसले समूहकै बलिया टोली इंग्ल्यान्ड र स्कटल्यान्डलाई पराजित गरिसकेकाले स्वाभाविक रूपमा आफूलाई उपाधि दाबेदारका रूपमा उभ्याएको छ। दुई पटकको विश्व च्याम्पियन वेस्टइन्डिज आफ्नो फर्किएको फर्मलाई निरन्तरता दिने सोचमा रहेको छ।

यसअघि शारजाहमा क्रिकेट खेलेका हुसैन नेपालविरुद्ध सचेत रहेर खेल्ने बताउँछन्। उनी धेरै संख्यामा नेपाली समर्थक मैदानमा आउने र शारजाहमा पराजय भोगिसकेको अनुभव भएकाले पनि सचेत रहने बताएका छन्।

यस्तो छ नेपालको प्लेइङ ११:
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, लोकेश बम, गुल्सन झा, करण केसी, नन्दन यादव, सोमपाल कामी र सन्दीप लामिछाने।