नेपालभाषा संगीत क्षेत्रमा प्रेमभावनाले ओतप्रोत नयाँ साङ्गीतिक प्रस्तुति थपिएको छ। फिल्म गायक सुरेन्द्र श्रेष्ठको स्वर तथा संगीत रहेको गीत ‘छन्त लुमंला’ भ्यालेन्टाइन डेका अवसरमा कीर्तिपुरमा आयोजित विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
यस गीतलाई केवल सामान्य म्युजिक भिडियोको रूपमा नभई ‘म्युजिकल फिल्म’को स्वरूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ। निर्देशक, छायाङ्कार तथा भिजुअल सम्पादक रजिन महर्जनले करिब ६ मिनेट लामो भिडियोलाई फिचर फिल्मकै भाव र संरचनामा निर्माण गरिएको बताए। उनका अनुसार गीतको कथावस्तु, दृश्य संयोजन र भाव–अभिनयलाई चलचित्रको स्तरमा उठाउने प्रयास गरिएको हो।
गीतको कथा बाल्यकालदेखिको निष्कलंक प्रेमबाट सुरु हुन्छ र समयसँगै भावनात्मक वियोगमा पुगेर टुंगिन्छ। दुई पात्रबीचको मायाको यात्रा र बिछोडले दर्शकलाई भावुक बनाउने किसिमले कथा बुनेको छ। भिडियोमा देबेन्द्र महर्जन र अमिता महर्जन मुख्य भूमिकामा देखिएका छन् भने अन्य सह–कलाकार र बाल कलाकारहरूको समेत उल्लेखनीय सहभागिता रहेको छ।
गीतका शब्द श्याम तमोटले रचेका हुन्। सार्वजनिक कार्यक्रममा गायकद्वय रामेश श्रेष्ठ, जुजुकाजी रंजित तथा वरिष्ठ कलाकार आशाकाजी थकू लगायतले नेपालभाषामा स्तरीय गीतहरूको निरन्तर उत्पादन भइरहेकोमा खुसी व्यक्त गरे।
‘छन्त लुमंला’को म्युजिक भिडियो वाइजीजी स्टुडियो युट्युब च्यानलमार्फत सार्वजनिक भइसकेको छ। प्रेम दिवसकै सन्दर्भ पारेर सार्वजनिक गरिएको यस गीतले नेपालभाषा संगीतमा भावनात्मक कथा र आधुनिक प्रस्तुतीकरणको नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
