आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले समूहचरणको अन्तिम खेलमा आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। लगातार दोस्रो विश्वकप खेलिरहेको नेपाल जितविहीन बनिरहँदा कम्तिमा एउटा जित निकाल्दै प्रतियोगिताको सुखदु अन्तको प्रतीक्षामा रहेको छ।
समूह ‘सी’ बाट सुपर-८ मा पुग्ने टिमको टुंगो भइसकेकाले यो खेल औपचारिकताका रुपमा मात्र रहने छ। तर नेपाल १२ वर्षदेखि विश्वकपमा जित निकाल्न नसकेको इतिहास बदल्ने प्रयासमा फेरि एकपटक मैदानमा हुनेछ। खेल साँझ ७:१५ बजेदेखि सुरु हुनेछ।
वानखेडेलेमै सबै तीन खेल खेलिसकेको नेपालले तीनवटै खेलमा हार बेहोर्दै प्रतियोगिता विर्सनलायक बनायो। पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले रोमाञ्चक पराजय भोगेको नेपालले त्यसपछि भने दुवै टिमसँग प्रतिस्पर्धात्मक खेल खेल्न सकेन।
पहिलो पटक विश्वकप खेलिरहेको इटलीसँग १० विकेटको फराकिलो अन्तरले हारेको नेपाल तेस्रो खेलमा वेस्टइन्डिजसँग ९ विकेटको हारपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो। स्कटल्यान्डले भने पहिलो खेलमा इटलीलाई हराएर टी-२० विश्वकप यात्रा सुरु गरेको थियो।
तर त्यसपछिलगातार दुई खेलमा पराजित भएको स्कटल्यान्ड अन्तिम खेल जित निकाल्दै प्रतियोगिताबाट बिदा हुने सोचमा रहेको छ। समूह सीमा नेपाल मात्र जितविहीन टोली भएकाले स्कटल्याण्डलाई हराएर लामो यात्रा गरेर मुम्बई पुगेका समर्थकलाई केही खुसी बनाउने प्रयास नेपाली टोलीले गर्नेछ।
नेपालले सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा हङकङ र अफगानिस्तानलाई हराएपनि त्यसयता दुई विश्वकप खेल्दा कुनै जित हात पार्न सकेको छैन। नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म टी-२० आईमा दुई खेल भएको छ जसमा दुवैले १-१ खेल जितेका छन्। त्यसैले यो खेल प्रतिस्पर्धात्मक हुन सक्ने आँकलन गरिएको छ।
