काठमाडौँ महानगरपालिका–१९ ले गत शनिबार जेष्ठ नागरिकहरूका लागि विशेष धार्मिक भ्रमण कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा करिब २०० जना जेष्ठ नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
वडाध्यक्ष राजेश कुमार श्रेष्ठ ले न्यूज नेपा: सँग कुरा गर्दै यस भ्रमणको मुख्य उद्देश्य घरमै सीमित भइरहेका जेष्ठ नागरिकहरूलाई बाहिर घुमफिर गराई उनीहरूमा नयाँ ऊर्जा, ताजगी र आपसी भेटघाटको अवसर सिर्जना गर्नु रहेको बताउनुभयो। उहाँका अनुसार वडा कार्यालयले प्रत्येक वर्ष ३–४ पटक यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
यसपटक जेष्ठ नागरिकहरूलाई सिद्धकाली मन्दिर क्षेत्रमा भ्रमण गराइएको थियो। भ्रमणका क्रममा सहभागीहरूलाई निःशुल्क भोजनको व्यवस्था गरिएको थियो भने दिनभरि रमाइलो वातावरणमा मनोरञ्जन नाचगान तथा खेलकुद तथा धार्मिक तथा सांस्कृतिक स्थलहरुको अवलोकन गराइएको थियो ।
वडाले जेष्ठ नागरिकहरूको सहजताका लागि विशेष ध्यान दिँदै बस चढ्दा–ओर्लँदा स्वयंसेवक (भोलिन्टियर) परिचालन गर्नुका साथै खानेपिने देखि लिएर यात्राको सम्पूर्ण व्यवस्थापन व्यवस्थित रूपमा गरिएको थियो।
भ्रमणमा सहभागी जेष्ठ नागरिकहरूले यस्तो कार्यक्रमले आफूहरूलाई घरको एक्लोपना बाट बाहिर निकालेर पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर मिलेको भन्दै खुसी व्यक्त गरेका छन्। “हामीलाई धेरै रमाइलो भएको महसुस भयो,” एक सहभागीले बताए।
वडाध्यक्ष श्रेष्ठले आउँदो शुक्रबार पनि जेष्ठ नागरिकहरूका लागि अर्को भ्रमण कार्यक्रम तय गरिएको जानकारी दिनुभयो। वडा १९ ले जेष्ठ नागरिकमैत्री कार्यक्रमलाई निरन्तरता दिँदै सामाजिक सद्भाव र सक्रिय जीवनशैली प्रवर्द्धन गर्ने लक्ष्य राखेको जनाएको छ।
