रञ्जु दर्शना न्यौपानेको पुनरागमन, काठमाडौं–१ मा जित

काठमाडौं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना न्यौपाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्। औपचारिक घोषणा भने निर्वाचन आयोगबाट हुन बाँकी छ।

न्यौपानेले १५ हजार ४५५ मत ल्याउँदै जित हात पारेकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरे। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ३ हजार ९७२ मत ल्याए भने नेकपा एमालेका मोहन रेग्मीले १ हजार ६१८ मत पाए।

यो जितलाई धेरैले अप्रत्याशित पुनरागमनका रूपमा हेरेका छन्। केही समय राजनीतिबाट ओझेलमा परेकी न्यौपाने रास्वपा प्रवेशसँगै पुनः सक्रिय भइन् र छोटो समयमै निर्वाचन जित्न सफल भइन्।

विशेष गरी उनी नवप्रसूता अवस्थामै चुनावी मैदानमा उत्रिएको विषयले पनि धेरैको ध्यान खिचेको थियो। उनले घरदैलो अभियानसमेत गर्न नपाएको अवस्थामा निर्वाचनमा भाग लिएकी थिइन्। मतदानका दिन उनले दस दिनको शिशु बोकेर मतदान गर्न गएको तस्बिर सामाजिक सञ्जालमा निकै चर्चित बनेको थियो।

२०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी न्यौपानेले त्यतिबेला २३ हजारभन्दा बढी मत ल्याएकी थिइन्। त्यसपछि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवार बने पनि अपेक्षित मत पाउन सकेकी थिइनन्।

विवेकशील अभियानबाट राजनीतिक यात्रा सुरु गरेकी उनी पछि विवेकशील साझा पार्टीकी महासचिव बनेकी थिइन्। उक्त पार्टी रास्वपामा समाहित भएपछि उनी अहिले रास्वपाको केन्द्रीय समितिमा आबद्ध छिन्।

रास्वपामा प्रवेशपछि सुरुमा उनी समानुपातिकतर्फको बन्दसूचीमा रहेकी थिइन्। सूचीमा नाम तल परेको भन्दै असन्तुष्टि जनाएपछि पार्टीले उनको नाम बन्दसूचीबाट फिर्ता लिएर काठमाडौं–१ मा प्रत्यक्ष उम्मेदवार बनाएको थियो।

यस पटकको चुनावी परिणामसँगै काठमाडौं–१ मा न्यौपानेको जितलाई नयाँ पुस्ताको नेतृत्व र महिला प्रतिनिधित्वको संकेतका रूपमा पनि विश्लेषण गर्न थालिएको छ।