अनुशासनहीन सांसदलाई फिर्ता बोलाउने सभापति लामिछानेको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका जनप्रतिनिधिहरूका लागि कडा अनुशासनको रेखा कोर्नुभएको छ।

हालै सम्पन्न पार्टीको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सांसदहरूले मर्यादा र अनुशासन उल्लङ्घन गरेमा उनीहरूलाई पदबाट फिर्ता बोलाउन (रिकल गर्न) पार्टी पछि नहट्ने स्पष्ट पार्नुभयो।

रास्वपाको विधानमा नै जनप्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने विशेष व्यवस्था रहेको स्मरण गराउँदै उहाँले शक्तिको मातमा आएर कसैलाई पनि जथाभाबी बोल्ने वा हल्का मनोरञ्जनमा लाग्ने छुट नभएको बताउनुभयो।

पार्टी अहिले सरकार सञ्चालनको महत्त्वपूर्ण जिम्मेवारीमा रहेकाले हरेक सांसदको व्यवहार नागरिकको अपेक्षाअनुरूप हुनुपर्नेमा उहाँको जोड थियो।

अहिलेका सचेत नागरिकले गलत कदम चाल्नेलाई लामो समय पर्खिएर नबस्ने भएकाले सबैको ध्यान जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो।

सरकार ढाल्ने र पार्टीभित्र फाटो ल्याउने खेलहरू भइरहेको प्रति सचेत रहन आग्रह गर्दै लामिछानेले मन्त्री बन्नका लागि नेता वा सञ्चारमाध्यममा धाउने प्रवृत्तिलाई निरुत्साहित गर्न आफ्ना सांसदहरूलाई कडा निर्देशन समेत दिनुभयो।