काठमाडौँ । आकर्षक वैदेशिक रोजगारीको प्रलोभनमा परी कम्बोडिया पुर्याएर अवैध ‘अनलाइन स्क्याम’ (अनलाइन ठगी) केन्द्रहरूमा बन्धक बनाइएका ७ जना नेपाली नागरिकको सफलतापूर्वक उद्धार गरिएको छ। थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावास, कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघ (NRNA) कम्बोडियाको संयुक्त पहलमा उनीहरूलाई उद्धार गरी काठमाडौँ ल्याउन लागिएको हो।
उद्धार गरिएका ७ जना नेपालीहरू चैत २२ गते कम्बोडियाबाट प्रस्थान गरी आज चैत २३ गते (सोमबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ।
कसरी परेका थिए पासोमा?
मानव तस्करहरूले उच्च तलब र सुबिधाको लोभ देखाउँदै उनीहरूलाई भिजिट भिसामा कम्बोडिया पुर्याएका थिए। त्यहाँ पुगेपछि उनीहरूको राहदानी (पासपोर्ट) खोसिएको र बाहिरी संसारसँग सम्पर्कविच्छेद गराई चिनीया तथा अन्य अन्तर्राष्ट्रिय गिरोहद्वारा सञ्चालित अवैध अनलाइन स्क्यामिङ र क्यासिनो सम्बन्धी काममा जबरजस्ती लगाइएको थियो। कतिपय पीडितहरू भिसा अवधि सकिएर अवैध रूपमा बस्न बाध्य पारिएका थिए।
उद्धारको प्रक्रिया र सरकारी चेतावनी
नेपाली राजदूतावासका अनुसार, पीडितहरूले आफूहरू जोखिममा रहेको जानकारी गराएपछि कम्बोडियाली अधिकारीहरूसँगको समन्वयमा उनीहरूलाई सुरक्षित स्थानमा सारिएको थियो। राहदानी खोसिएका वा हराएकाहरूको हकमा दूतावासले निःशुल्क एकतर्फी ‘ट्राभल डकुमेन्ट’ जारी गरी स्वदेश फिर्तीको बाटो खुला गरिदिएको हो।
राजदूतावासले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता देशहरूमा भिजिट भिसामा गएर छिटो र धेरै पैसा कमाउने प्रलोभनमा नपर्नुहोस्। वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रूपमा नेपाल सरकारको श्रम स्वीकृति लिएर मात्र जानुहोला।”
अझै पनि धेरै नेपालीहरू यस्ता अवैध केन्द्रहरूमा बन्धक रहेको हुन सक्ने आशंका गर्दै दूतावासले समस्यामा परेकाहरूलाई तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ। पछिल्लो समय दक्षिण–पूर्वी एसियाली देशहरूमा नेपाली युवाहरूलाई अनलाइन ठगीको काममा लगाउने गिरोह सक्रिय देखिएकाले यसप्रति विशेष सतर्कता अपनाउन प्रशासनले अपिल गरेको छ।
