भाषासेवी तथा शिक्षाविद् विष्णु चित्रकारको मुस्ताङमा निधन

भाषासेवी एवं शिक्षाविद् विष्णु चित्रकारको मुस्ताङमा हृदयघातका कारण निधन भएको छ। नेपालभाषा क्षेत्रका सम्मानित व्यक्तित्व चित्रकार आफ्ना साथीहरूसँग मुस्ताङ भ्रमणमा रहेको बेला सोमबार बिहान सुतिरहेकै अवस्थामा अचानक हृदयघात भएको थियो। ७६ वर्षको उमेरमा निधन भएको छ।

हृदयघात भएलगत्तै उहाँलाई स्थानीय अस्पताल पुर्‍याइएको थियो। चित्रकारसँगै उहाँकी श्रीमती विद्या चित्रकार पनि मुस्ताङ जानुभएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकहरूले उहाँलाई मृत घोषित गरेको जानकारी विद्या चित्रकारले दिनुभएको छ।

श्रीमती विद्या चित्रकारका अनुसार, विष्णु चित्रकारको पार्थिव शरीरलाई एम्बुलेन्समार्फत काठमाडौं ल्याइँदै छ। सोमबार मध्यरातसम्ममा उहाँको शव काठमाडौं आइपुग्ने बताइएको छ। उहाँका श्रीमती र एक छोरी हुनुहुन्छ।

नेवाः आन्दोलनमा अपूरणीय क्षति विष्णु चित्रकार जीवनभर नेपालभाषा, शिक्षा र समाजसेवामा समर्पित हुनुहुन्थ्यो। उहाँ विभिन्न सामाजिक तथा भाषिक संस्थाहरूमा सक्रिय हुनुहुन्थ्यो।