काठमाडौं महानगरको पहल ,अब राति पनि सहज यात्रा

काठमाडौं महानगरपालिको संयोजनमा राजधानी उपत्यकामा आजबाट रात्रिकालीन बस सेवा सुरु भएको छ । काठमाडौं महानगरले पहल सुरु गरेपछि उपत्यकामा रहेका पालिका र साझा यातायातको सहकार्यमा रात्रिकालीन बस सेवा सुरु भएको हो ।

काठमाडौँ उपत्यकामा अब राति यात्रा झन्झटिलो नहुने भएको छ। साझा यातायातले रात्रिकालीन बस सेवा सुरु गर्दै यात्रुका लागि सुरक्षित, प्रविधिमैत्री र व्यवस्थित यात्रा विकल्प ल्याएको छ। राति ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यो सेवामा सीसीटीभी निगरानी, नगर प्रहरीको उपस्थिति र ‘साझा प्लस’ एपमार्फत बस ट्र्याकिङ जस्ता सुविधाले यात्रु सुरक्षा र सहजतालाई प्राथमिकता दिएको छ।

प्रारम्भिक चरणमा दुई मुख्य रुट—एयरपोर्टदेखि थानकोट (पूर्व–पश्चिम) र बुढानीलकण्ठदेखि लगनखेल (उत्तर–दक्षिण)—मा सञ्चालन गरिएको यो सेवा ७ वटा विद्युतीय बसमार्फत चलाइँदैछ। स्थानीय तहहरूको सहकार्यमा सुरु गरिएको यो पहललाई मागअनुसार विस्तार गर्ने योजना पनि रहेको छ।