बेल्झुण्डीमा १६ औं राष्ट्रपति रनिङ शिल्डको उत्साह: प्रदेशका १२ जिल्लाका खेलाडीबीच प्रतिस्पर्धा

लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा दाङको बेल्झुण्डीमा १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन गरिएको छ।

प्रदेशका १२ वटै जिल्लाका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले औपचारिक रूपमा उद्घाटन गर्नुभएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले राष्ट्रियताको रक्षा र समृद्ध नेपाल निर्माणका लागि खेलकुद क्षेत्रको योगदान अतुलनीय रहने चर्चा गर्नुभयो।

उहाँले राष्ट्रियताका सवालमा खेलाडीहरूको भूमिका सिपाहीको जस्तै हुने उल्लेख गर्दै खेलकुदले नै देशलाई विश्वस्तरमा पहिचान दिलाउने विश्वास व्यक्त गर्नुभयो।

प्रदेश सरकार खेल क्षेत्रको चौतर्फी विकास, पूर्वाधार निर्माण र नियमित प्रतियोगिता आयोजनाका लागि प्रतिबद्ध रहेको जनाउँदै मुख्यमन्त्री आचार्यले पछिल्लो समय युवाहरू कुलतमा फस्नु चिन्ताको विषय बनेको तर्फ ध्यानाकर्षण गराउनुभयो।

स्वस्थ जीवनका लागि खेलकुद अनिवार्य रहेको र यसले युवाहरूलाई अनुशासनमा बाँध्न मद्दत पुर्याउने उहाँको भनाइ थियो। प्रतियोगितामा भलिबल, तेक्वान्दो, कराते, उसु, कबड्डी र एथलेटिक्स विधाका खेलहरू समावेश गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव तीरणदाज गौतमले जानकारी दिनुभयो।