सेयर बजार आजपनि घट्याे, नेप्से ६.३१ अङ्कले घट्दा ४ अर्ब ४ करोडको कारोबार

धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक लगातार चौथो कारोबार दिन मङ्गलवार पनि घटेर बन्द भएको छ । अघिल्ला दिनहरू झैँ ओरालो लाग्ने क्रमलाई निरन्तरता दिँदै नेप्से परिसूचक यस दिन ६.३१ अङ्कले घटेर २,७०५.४५ विन्दुमा झरेको छ। परिसूचकसँगै यस दिन कारोबार रकममा पनि केही गिरावट आएको छ।

यस दिन ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स १.४८ अङ्क, फ्लोट इण्डेक्स ०.५३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५७ अङ्कले ओरालो लागेका छन्। सोमबार ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा मङ्गलवार भने ३५५ कम्पनीका ४८ हजार ११६ पटकको कारोबारमा ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन दुईवटा कम्पनी सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै, दोल्ती पावर कम्पनीको सेयर मूल्य साढे ६ प्रतिशतभन्दा बढी र बुङ्गल हाइड्रोपावरको मूल्य करिब साढे ५ प्रतिशतले बढेको छ। यस दिन मूल्य घट्ने समूहका सेयरहरूको गिरावट दर भने ५ प्रतिशतभन्दा कम नै सीमित रहेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको मङ्गलवार ३१ करोड ९९ लाख ४५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो। यस्तै, सिद्धार्थ बैंकको १८ करोड रुपैयाँभन्दा बढी र रिलायन्स स्पिनिङ मिल्सको १५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन केवल २ उपसमूह (म्युचुअल फण्ड र व्यापार) को परिसूचक सामान्य बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। घटेका उपसमूहहरूको गिरावट दर भने ०.५ प्रतिशतभन्दा कम रहेको नेप्सेले जनाएको छ।