राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा देखाइयो रातो मत्स्येन्द्रनाथको भोटो

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो शनिबार ललितपुरको जावलाखेलमा सर्वसाधारणलाई देखाइएको छ। परम्परागत सांस्कृतिक विधिअनुसार जावलाखेलमा आयोजित एक विशेष समारोहका बीच मणिकमाणिक्य जडित बहुमूल्य भोटो प्रदर्शन गरिएको हो ।

भोटो देखाउने ऐतिहासिक कार्यक्रममा राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थिति रहेको थियो। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र साह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको सहभागिता रहेको थियो। सो अवसरमा मन्त्रीगणका साथै नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत बाक्लो उपस्थिति रहेको थियो।

हरेक वर्ष रातो मत्स्येन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिन राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने ऐतिहासिक परम्परा रहिआएको छ। लिच्छवीकालदेखि नै मनाउन सुरु गरिएको विश्वास गरिने यो भोटो जात्रा उपत्यकाकै सबैभन्दा लामो र महत्त्वपूर्ण सांस्कृतिक पर्वहरूमध्ये एक हो ।

कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको यो ऐतिहासिक भोटो अवलोकन गर्न शनिबार जावलाखेलमा सर्वसाधारणको निकै बाक्लो उपस्थिति रहेको थियो। गुठी संस्थानका अधिकारीले रथको चारै कुनाबाट भोटो देखाएपछि यो वर्षको रातो मत्स्येन्द्रनाथको जात्रा औपचारिक रूपमा सम्पन्न हुने प्रक्रियामा अघि बढेको छ।