काठमाडौँ । अन्तर्राष्ट्रिय बजारको उतारचढाव र आपूर्तिमा देखिएको असहजताका कारण विगत केही समयदेखि आधा सिलिन्डर (७.१ केजी) मात्रै ग्यास किन्न बाध्य उपभोक्ताका लागि नेपाल आयल निगमले बुधबार (असार ३१) देखि लागू हुने गरी पूर्ण क्षमताकै भरी सिलिन्डर (१४.२ केजी) वितरण गर्ने निर्णय गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विशेष निर्देशन र इन्डियन आयल कर्पोरेसन (IOC) बाट ग्यास लोडिङमा सुधार आएपछि निगमले यो कदम चालेको हो। निगमले भरी सिलिन्डरको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेको छ।
तर, बजारमा यो निर्णय कार्यान्वयनमा आउँदा उपभोक्ताहरू केही प्राविधिक कुरामा अलमलिन सक्ने र ठगीमा पर्न सक्ने जोखिम पनि उत्तिकै देखिएको छ।
निगमका अनुसार बजारमा पठाइएका ७.१ केजीका आधा सिलिन्डरहरू तत्कालै पूर्ण रूपमा विस्थापित भइहाल्ने अवस्था छैन। यो संक्रमणकालीन अवधिमा बजारमा आधा र पूरा दुवै क्षमताका सिलिन्डर एकैसाथ उपलब्ध हुन सक्छन्।
व्यापारीहरूले पुरानै स्टक भन्दै उपभोक्तालाई आधा सिलिन्डर भिराएर पूरा मूल्य (२,०६० रुपैयाँ) असुल्न सक्ने वा उपभोक्ता झुक्किन सक्ने भएकाले ग्यास खरिद गर्दा तौल र सिलिन्डरको आकार अनिवार्य रूपमा जाँच गर्न निगमले आग्रह गरेको छ।
ग्यास उपभोक्ताका लागि ठूलो राहत! आजैदेखि बजारमा १४.२ केजीको भरी सिलिन्डर पाइने, मूल्य २,०६० रुपैयाँ तोकियो। तर बजारमा आधा सिलिन्डर पनि बाँकी रहेकाले किन्दा उपभोक्ता झुक्किन सक्ने! ठगीबाट कसरी जोगिने? पूरा समाचार पढ्न लिङ्क क्लिक गर्नुहोस्।
