नेपालभाषाका चर्चित उपन्यासकार मल्ल के सुन्दरको लोकप्रिय उपन्यास ‘सेप्टेम्बर १७’ को अंग्रेजी संस्करण प्रकाशित भएको छ। उक्त पुस्तकको लोकार्पण काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले गत शनिबार आयोजित एक कार्यक्रममा गर्नुभयो।
अमेरिकामा लामो समयसम्म बसेर आफ्नै अनुभवका आधारमा नेपाली तथा नेवा:समुदायको जीवन, भाषा, संस्कृति, संस्कार र जातीय पहिचानलाई समेटिएको यस उपन्यासको अंग्रेजी अनुवाद वरिष्ठ समालोचक ज्योतिप्रभा तुलाधरले गर्नुभएको थियो।
भारतको आदर्श बुक्सबाट प्रकाशित पुस्तकको लोकार्पण समारोहमा कार्यवाहक मेयर सुनिता डंगोलले मल्ल के सुन्दरको बहुआयामिक व्यक्तित्वको चर्चा गर्दै उहाँको उपन्यास अंग्रेजी भाषामा अनुवाद हुनु नेपालभाषा साहित्यका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। नेपालभाषा, मानवअधिकार, जातीय अधिकार, साहित्य र संस्कृतिका क्षेत्रमा लामो समयदेखि सक्रिय मल्ल के सुन्दरले आफ्ना कृतिमार्फत नयाँ पुस्तालाई समेत प्रेरित गर्दै आएको उल्लेख गर्दै उहाँले आफूले पनि उहाँबाट निरन्तर मार्गदर्शन प्राप्त गरेको बताउनुभयो।
कार्यक्रममा वरिष्ठ समालोचक अभि सुवेदीले मल्ल के सुन्दरले आफ्ना उपन्यासका पात्र, परिवेश र कथावस्तुलाई अत्यन्त सशक्त रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै उहाँले आफ्ना अनुभवलाई प्रभावशाली ढंगले साहित्यमा रूपान्तरण गर्न सफल भएको बताउनुभयो।
हाल पोर्चुगलमा रहनुभएकी अनुवादक डा. ज्योतिप्रभा तुलाधरले भिडियो सन्देशमार्फत उपन्यासको विषयवस्तुले आफूलाई गहिरो रूपमा छोएकाले यसको अंग्रेजी अनुवाद गर्ने प्रेरणा मिलेको बताउनुभयो।
नेपालभाषा एकेडेमीका भाइस चान्सलर डा. पुष्पराज राजकर्णिकारले अंग्रेजी अनुवाद प्रकाशित भएपछि उपन्यासको पहुँच अन्तर्राष्ट्रिय पाठकमाझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो। प्रकाशक आदर्श बुक्सका कार्यकारी प्रमुख निर्मलकुमार कर्णले कार्यक्रमको सञ्चालन गर्दै पुस्तक प्रकाशनमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।
