साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा

काठमाडौं- हरेक १२ वर्षमा आयोजना हुनुपर्ने तर पछिल्ला २४ वर्षदेखि हुन नसकेको सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौंमा दीपंकर तथागत बुद्धको शोभायात्रा तथा पञ्चदान कार्यक्रम आयोजना गरिने भएको छ।

गुरु पूर्णिमाको अवसर पारेर काठमाडौं महानगरपालिका–२७ स्थित महाबौद्ध महाविहारको प्राङ्गणमा कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको तयारीका लागि आयोजित बैठकमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गी सहभागी हुँदै कार्यक्रमको सफल व्यवस्थापनका लागि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

महाबौद्ध महाविहारका महास्थविर संघरत्न शाक्यका अनुसार कार्यक्रममा काठमाडौंका विभिन्न महाविहार तथा बहाः–बहीःबाट ८५ जना शाक्य स्थवीर, थायपा, दीपंकर तथागत बुद्ध तथा जीवित देवता श्रीगणेश र श्रीभैरवलाई विराजमान गराई पञ्चदान अर्पण गरिनेछ।

कार्यक्रम बिहान ७ बजे दीपंकर बुद्धहरूको आसन ग्रहणबाट सुरु हुनेछ। बिहान ९ बजेदेखि ११ बजेसम्म पञ्चदान प्रदान गरिनेछ। अपराह्न १२:३० बजे महाबौद्धबाट सुरु हुने दीपंकर बुद्धको शोभायात्रा असन, त्योड, इनबहाल, कमलाक्षी र भोटाहिटी हुँदै असन डबलीसम्म पुग्नेछ। त्यसपछि सुरु हुने पूजा कार्यक्रम साँझ ७ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

काठमाडौंका विभिन्न स्थानमा रहेका शाक्य समुदायका महाविहारहरूमा ठँहिटीको शान्तिघट चैत्य बज्रधातु महाविहार, नघः बहाःको रत्नमण्डल महाविहार, असं बहाःको अशोक चैत्य महाविहार, महाबौद्धको महाबुद्ध महाविहार, चधं बहाःको धर्मचक्र महाविहार, कोँसा बहाःको रत्नाकर महाविहार, कोहिटी बहाःको कीर्तिपुण्य महाविहार, यंगालको धर्माकर महाविहार, ओमबहालको विक्रमशील महाविहार तथा लगनटोलको कीर्तिपुण्य भुवनसुन्दर महाविहार प्रमुख रहेका छन्।

यस्तै, शाक्य र बज्राचार्य समुदायका संयुक्त महाविहारमा इतुम्बहालको केशचन्द्र पारावर्त महाविहार, जनबहालको कनकचैत्य महाविहार, बसन्तपुरको श्रीखण्डतरमूल महाविहार, मखन बहाल, लगं बहाःको कीर्तिपुण्य महाविहार तथा ओमबहालको ब्रह्मचक्र महाविहार रहेका छन्।

काठमाडौं महानगरभित्र चाःवही, कोटु चाःवही, अटुलखु वही, महाङ्काल वही, बिज्यास वही, खुशी वही, मरु वही, मखं वही, गण वही, त्वाःकं वही, न्हयाकं वही, सेङ्गु वही, कोटु वही, दुगं वही र नःवही गरी १६ वटा बही रहेका छन्।

सम्यक महादान परम्परागत रूपमा स्वयम्भू क्षेत्रमा आयोजना हुँदै आएको छ। पछिल्लोपटक २०६० सालमा सम्पन्न भएको उक्त महादान त्यसयता आयोजना हुन सकेको छैन। हरेक १२ वर्षमा आयोजना गर्नुपर्ने यस धार्मिक परम्पराको स्मरण गराउने उद्देश्यले यस वर्ष दीपंकर बुद्धको शोभायात्रा तथा पञ्चदान कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।