काठमाडौं — नेपालभाषाको मौलिक प्रहसन तथा नाट्य विधा ‘ख्यालः’ को संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित मुनाः स संस्थाले आयोजना गर्न लागेको उपत्यकाव्यापी ख्यालः प्रतियोगिताका लागि ११ वटा ख्यालः बाट ८ वटा छनोट भएका छन् ।
नेपालभाषा मंकाः खलःको भवन, विजेश्वरीमा आयोजित कार्यक्रममा छनोट भएका ख्यालःका टोलीलाई मनोनयन पत्र वितरण गरिएको छ।
उपत्यकाव्यापी ख्यालः प्रतियोगिता आयोजना हुन लागेको व्यंग्यात्मक प्रहसन प्रतियोगितामा छनोट भएका आठवटै ख्यालः आगामी भदौ २७ र २८ गते मञ्चन गरिनेछन्।
प्रतियोगिताका लागि छनोट भएका नाटकहरूमा ‘विह्वलचियरं कुतुंवःम्ह नेवाः’, ‘स्वर्ग लोकय् ख्यालः च्वमितय् गन्थन’, ‘कयता तंम्ह नेवाः’, ‘इमर्जेन्सि सराद’, ‘थ्व छु जुगु ?’, ‘छन्त नं थथे याये यःला ?’, ‘धुकूया चुकू’ र ‘कयता मदुम्ह गनेद्यः’ रहेका छन्।
लिच्छविकालदेखि अस्तित्वमा रहेको र मल्लकालमा राजा रत्न मल्लको समयदेखि सार्वजनिक रूपमा प्रदर्शन हुँदै आएको नेपालभाषाको ख्यालः विधालाई निरन्तरता दिने उद्देश्यले मुनाः स संस्थाले लामो समय पछि व्यंग्यात्मक प्रहसन प्रतियोगिता आयोजना हुन लागेको हो ।
नेपाल संवत् १०९२ देखि भाषा र संस्कृतिको संरक्षणमा सक्रिय संस्थाले यसअघि आयोजना गरेका ६ वटा ख्यालः प्रतियोगितामा ४२ वटा संघसंस्थाबाट ८२ वटा ख्यालः सहभागी भएका थिए।
यस वर्ष आयोजना हुन लागेको “स्वनिगः व्यापि मुना सः ख्यालः धें धें बल्ला कासा ११४६” ले मौलिक सांस्कृतिक सम्पदाको संरक्षण, अग्रज कलाकारको सम्मान तथा नयाँ पुस्तालाई ख्यालः विधातर्फ आकर्षित गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।
प्रतियोगिताको नियमअनुसार प्रस्तुत हुने नाटक १५ देखि २५ मिनेट अवधिको हुनुपर्नेछ। प्रत्येक समूहमा बढीमा ८ जना कलाकार तथा निर्देशक र प्राविधिकसहित अधिकतम १२ जनासम्म सहभागी हुन पाउने व्यवस्था गरिएको छ।
प्रतियोगितामा यसअघि सार्वजनिक रूपमा मञ्चन नभएका मौलिक एकांकी नाटकलाई मात्र सहभागी गराइनेछ। संस्थागत रूपमा मात्र सहभागिता जनाउन पाइने प्रतियोगिताका लागि दर्ता शुल्क १ हजार रुपैयाँ तोकिएको थियो।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारका साथै उत्कृष्ट निर्देशक, उत्कृष्ट नाटक, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट समूहलाई समेत विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
